हेटौँडा, असोज २४ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रिय हित, स्वाधीनताको रक्षा र नेपाली भूमिको संरक्षणका लागि नेकपा एमाले बलियो हुनुपर्ने बताएका छन् ।
नेकपा एमाले हेटौँडा उपमहानगरपालिका–१७ नम्बर वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिग्देलले एमाले सरकारमा रहँदा विदेशी हस्तक्षेप र चलखेलको अन्त्य, राष्ट्रिय स्वाधीनताको रक्षा तथा मिचिएको नेपाली भूमि फिर्ता गर्न पहल भएको दाबी गरे ।
वर्तमान प्रधानमन्त्रीले गरिमामय संसद्मा नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै सिग्देलले त्यसले नेपाली राष्ट्रियता र स्वाधीनतामाथि प्रहार गरेको आरोप लगाए । मुलुकमा महँगी, हत्या–हिंसा र बेथिति बढ्दै जाँदा जनताको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताका समस्या समाधानका लागि सक्रिय हुन आग्रह गरे ।
उनले पार्टीले सञ्चालन गरेको ‘मिसन पार्टी जागरण’ अभियानलाई वडा तहबाट टोल–टोलसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । जनतामाझ फैलाइएका भ्रम चिर्दै पार्टीप्रतिको विश्वास बलियो बनाउन कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
भेलामा नेकपा एमाले प्रदेश कमिटीका सदस्य रामचन्द्र राईले पार्टीले आफ्ना कमजोरी ढाकछोप नगरी आत्मसात् गर्दै जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । राष्ट्र निर्माण र संविधानको रक्षाका लागि एमालेको विकल्पमा अर्को पार्टी हुन नसक्ने दाबी गर्दै उनले पार्टीलाई जनतामाझ थप स्थापित गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी, प्रदेश कमिटी सदस्य सुमित्रा काफ्लेले निर्वाचनबाट बनेको सरकार निरंकुशतातर्फ अघि बढिरहेको र स्वेच्छाचारी बन्दै गएको आरोप लगाइन् । प्रदेश कमिटीका अर्का सदस्य कमलबहादुर विष्टले सरकारले गरिब, किसान र मजदुरका समस्यालाई सम्बोधन गर्न नसकेको बताए । रसुवामा भएको बाढीपहिरो तथा अन्य विपत्तिका घटनामा समेत सरकार र अन्य राजनीतिक दलका नेता–कार्यकर्ता उदासीन देखिएको उनको दाबी थियो ।
नेकपा एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामाले नेपाली जनताको चाहना र देशको आवश्यकताभन्दा पनि वैदेशिक चलखेलका कारण नेपाली राजनीति प्रभावित भइरहेको बताए । त्यसको असर न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकासम्म परेको उनको भनाइ थियो ।
लामाले वर्तमान सरकार गरिब तथा किसानको पक्षमा नरहेको आरोप लगाउँदै सुकुम्बासीलाई विस्थापित गरिए पनि उनीहरूको व्यवस्थापनका लागि उचित योजना नबनाइएको बताए । पार्टी र जनताको काममा सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
नेकपा एमाले हेटौँडा–१७ नम्बर वडा कमिटीका अध्यक्ष लक्ष्मण खुलालको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला सदस्य कृष्णबहादुर राई, एमाले नेताहरू भैरवबहादुर राई र शंकर राई, जिल्ला ज्येष्ठ कम्युनिस्ट मञ्चका कृष्णप्रसाद नेपाल, उपमहानगर कमिटीका सचिव प्रदीप गौतमलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।














