हेटौँडा, असोज २६ गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर रानाले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। नेकपा एमाले हेटौँडा उपमहानगरपालिका–९ नम्बर वडा कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै रानाले यस्तो बताएका हुन्।
रानाले निर्वाचनबाट गठन भएको सरकार भए पनि बालेन्द्र नेतृत्वको सरकारका गतिविधि स्वेच्छाचारी देखिएको आरोप लगाए। सरकारका कतिपय क्रियाकलापले मुलुकलाई अराजकतातर्फ धकेल्ने जोखिम बढाएको उनको दाबी थियो।
सामुदायिक संघसंस्थामाथि प्रतिबन्ध लगाउन खोज्ने, बिना प्रमाण जथाभावी धरपकड गर्ने तथा लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूलाई कमजोर बनाउने गतिविधि लोकतन्त्रका लागि चुनौती भएको रानाले बताए। उनले संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारको रक्षाका लागि राजनीतिक दल तथा आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।
एमालेले विगतदेखि नै युवा समुदायलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै रानाले युवाका माग र मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताए। उनले राजकीय निकाय, पार्टी कमिटी तथा नेतृत्व तहमा युवाको सहभागिता र प्रतिनिधित्वलाई प्राथमिकता दिँदै आएको पनि बताए।
चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै रानाले वडा कमिटी र युवालाई पार्टी कामको केन्द्रविन्दु बनाउनुपर्ने धारणा राखे। जनताको सुखदुःखमा पार्टी सधैँ साथमा रहने उल्लेख गर्दै उनले जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रम वडा कमिटी अध्यक्ष बासुदेव प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटी सदस्यहरू रघुनाथ खुलाल, रामचन्द्र राई, गीता कार्की र सुमित्रा काफ्लेलगायत जिल्ला, नगर तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको वडा सचिव सञ्जय अर्यालले जानकारी दिए।
चाडपर्वको शुभकामना आदानप्रदानसँगै आयोजित कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, युवा सहभागिता र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।

















