राष्ट्रियता, संविधान र लोकतन्त्र रक्षाका लागि राष्ट्रवादी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक : नवीन सिग्देल

मकवानपुर, असोज ३० गते । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षाका लागि राष्ट्रवादी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले मकवानपुरको गढी गाउँपालिका–५ नं. वडा कमिटीद्वारा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सिग्देलले नेपालको राष्ट्रियता संकटमा परेको, विदेशी चलखेल बढेको तथा संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको दाबी गरे । उनले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि साझा मुद्दामा सबै राष्ट्रवादी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

राष्ट्रियता र लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दलहरूविरुद्ध गलत प्रचार गरेर जनमत प्राप्त गरेको सरकार केही महिनामै सरकार सञ्चालन गर्न असक्षम देखिएको उनको आरोप थियो । सुकुम्बासीलाई उठिबास लगाउने, विपत्तिका बेला समेत सहकार्य गर्न तयार नहुने, अन्य राजनीतिक दललाई बेवास्ता गर्ने, संघसंस्थामाथि प्रतिबन्ध लगाउने तथा सरकार प्रमुखबाट राष्ट्रियतासम्बन्धी अनावश्यक अभिव्यक्ति संसद्मा दिने जस्ता गतिविधि सरकारको असक्षमताका उदाहरण भएको उनले बताए ।

त्यसैगरी, मुलुकमा दिनहुँ हत्या, हिंसा र महँगी बढ्दै जाँदा जनताको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै सिग्देलले लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दलहरू राष्ट्र र जनताका समस्याप्रति मौन बस्न नसक्ने बताए । वर्तमान परिस्थितिमा साझा मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईंले विकास र समृद्धिका लागि पार्टीलाई बलियो बनाउनुपर्ने बताए । बलियो एमालेले आगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्दै समृद्ध पालिका निर्माणको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो । उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी निर्माण र स्थानीय निर्वाचनमा केन्द्रित हुनसमेत आग्रह गरे ।

नेकपा एमाले वडा पार्टी अध्यक्ष रमेश तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश लेखा कमिटीका सचिव हरि कँडेल, जिल्ला सचिवालय सदस्य मेम्बर लो, जिल्ला सदस्यहरू रामजी सापकोटा र सन्तोष पौडेल, पालिका कमिटी अध्यक्ष जीतबहादुर घिमिरे, पेसागत महासंघ नेपालका प्रदेश उपाध्यक्ष सीताराम दाहाल, अनेकिसंघ जिल्ला अध्यक्ष विष्णु दंगाल, अनेरास्ववियु हेटौँडा उपमहानगर कमिटी अध्यक्ष रिजन जिसीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमबारे नेकपा एमाले गढी गाउँपालिका–५ नं. वडा कमिटीका सचिव शिवराज तिमल्सिनाले जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.