सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न विशालराज महतको माग, नियमनकारी निकायको ध्यानाकर्षण

हेटौंडा, कार्तिक १२ गते । सवारीसाधनबाट निस्कने धुवाँले वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सम्बन्धित नियमनकारी निकायको ध्यानाकर्षण गराएका छन्।

महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी अनुगमन, नियमित प्रदूषण जाँच र मापदण्डविपरीत धुवाँ उत्सर्जन गर्ने सवारीसाधनमाथि कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

उनले एउटा गाडीबाट निस्कने धुवाँ सामान्य लागे पनि दैनिक हजारौँ सवारीसाधनले यसरी नै प्रदूषण फैलाइरहँदा वातावरणमा पर्ने असर गम्भीर हुन सक्ने उल्लेख गरेका छन्। वायु प्रदूषणले मानव स्वास्थ्य, जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ।

सवारीसाधन सञ्चालनमा रोक लगाउनु समस्याको समाधान नभई प्रदूषण फैलाउने सवारीसाधनलाई प्रभावकारी रूपमा नियमन गर्नु आवश्यक रहेको महतले औँल्याएका छन्। उनका अनुसार सवारीसाधनको प्रदूषण जाँच, नियमित अनुगमन तथा निर्धारित मापदण्ड उल्लङ्घन गर्ने सवारीसाधनमाथि कानुनी कारबाहीलाई प्राथमिकता दिनुपर्छ।

महतले आज सामान्य ठानेर बेवास्ता गरिएको वायु प्रदूषणको समस्या भविष्यमा जनस्वास्थ्य र वातावरणका लागि गम्भीर संकट बन्न सक्ने चेतावनीसमेत दिएका छन्।

स्वच्छ हावामा सास फेर्न पाउनु नागरिकको मौलिक हक भएको उल्लेख गर्दै उनले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई व्यवहारमै सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीति, नियमित अनुगमन र कानुनको कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.