ज्यामिरे, कार्तिक १२ गते । मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा ट्रकको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ करिब ५ः३५ बजे पूर्व–पश्चिम सडकखण्डअन्तर्गत ज्यामिरेमा चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना.४ ख ५९७७ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका–३, टाँडी बेल्छी घर भएका करिब ७० वर्षीय रामनाथ विक घाइते भएका छन्। उनको टाउको तथा दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। घाइते विकलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ निवासी करिब ३७ वर्षीय गणेशबहादुर खपाङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















