मुख्यमन्त्रीद्वारा गौरिटार रंगशाला उद्घाटन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भएको फुटबल मैदानको औपचारिक रूपमा उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणलाई व्यवस्थित गर्दै सरकारको आयआर्जनमा समेत जोड्ने गरी सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउँदै, खेलाडीहरूको प्रोत्साहन र विकासका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए। साथै, खेलकुद क्षेत्रबाट समेत राजस्व संकलन गर्ने गरी संरचनागत व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए।

कार्यक्रममा उपस्थित प्रदेशका युवा तथा खेलकुद विकासमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै प्रदेशको समग्र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने दिशा तय गर्नुपर्ने धारणा राखे। साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरी पूर्वाधार विस्तार गर्न सके पर्यटक आगमन र बसाइ अवधि बढाउने उल्लेख गरे।

गौरीटार रंगशालाको निर्माण कार्य सन् २०७४ देखि प्रदेश सरकारअन्तर्गत अगाडि बढाइएको थियो। प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार अघिल्लो कार्यकालमा मैदान तयार गरिए पनि पूर्वाधार निर्माणमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै हाल रंगशालालाई व्यवस्थित रूपमा उद्घाटन गरिएको हो।

उनले रंगशालाको रनिङ ट्र्याक, प्याराफिटमा कुर्सी जडान, पर्खाल निर्माण लगायतका काम गर्न कुल २० करोड ४६ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरिएको जानकारी दिए। सार्वजनिक निर्माण कार्यान्वयन इकाइ गजुरी धादिङमार्फत २०७८ वैशाख १४ गते १३ करोड ३८ लाख ६५ हजार रुपैयाँको ठेक्का सम्झौता भई काम अघि बढाइएको थियो।

निर्माण कम्पनीले २०८१ पुस २९ सम्ममा काम सम्पन्न गर्नुपर्ने समयसीमा पाएको थियो। हालसम्म रंगशालाको प्याराफिटमा २४०० थान कुर्सी जडान गरिएको छ। साथै, १०५.६८ मिटरको खेलमैदानमा पानी निकासको स्वचालित प्रणाली जडान गरिएको र रनिङ ट्र्याकमा बेस कोर्स सम्पन्न गरिएको जानकारी पनि उनले दिए।

गौरीटार रंगशाला अब प्रतियोगिता सञ्चालन गर्न उपयुक्त बनाइएको छ र यसले स्थानीय तथा प्रदेशस्तरीय खेलकुद गतिविधिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.