भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित बृहस्पति मार्गमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन्।
पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबरजस्ती करणी गरेको भन्दै ६ वर्षअघि प्रहरीमा निवेदन दर्ता गराएकी शाहीको शव आइतबार दिउँसो १ बजेर ५० मिनेटमा उनी डेरा गरी बस्ने लक्ष्मीश्वर महतोको तीन तले घरको कोठाभित्रै फेला परेको हो।
प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव भेटिएको हो। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। शाहीको शरीरमा बाहिर कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ।
रोशनी शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन्। महराले यस प्रकरणमा पछि सफाइ पाएका थिए।














