हेटौडा। मिस युनिभर्स नेपाल २०२५ का लागि औपचारिक रूपमा आवेदन खुला गरिएको छ। बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल ग्ल्यामर भेन्चरले यो घोषणा गरेको हो। यस वर्ष प्रतियोगितालाई आठ भागमा आधारित ‘रियालिटी टिभी शो’ को रूपमा प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई प्रतियोगीहरूको यात्रा र रूपान्तरणलाई नजिकबाट नियाल्ने अवसर दिनेछ।
मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले नेपाली महिलाहरूको असीम क्षमतालाई विश्वसामु उजागर गर्ने यो एउटा महत्वपूर्ण मञ्च भएको बताइन्। उनले प्रतियोगिताको समावेशी स्वरूपमा जोड दिँदै “तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो” भन्ने नाराका साथ सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गरिने जानकारी दिइन्।
इच्छुक सहभागीहरूले जेठ १५ देखि असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सोसल मिडिया प्लेटफर्ममार्फत गर्न सकिनेछ। सहभागी हुनका लागि कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ। प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध छैन। नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउनेछन्।
अडिसनबाट छनोट हुने शीर्ष प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने सघन प्रशिक्षण प्राप्त गर्नेछन्। भदौमा क्लोज क्याम्प सञ्चालन हुनेछ भने ग्रान्ड फिनाले पनि भदौ महिनामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिनेछ। कोरियोग्राफरको रूपमा दिक्पाल कार्की यस प्रतियोगितामा आबद्ध छन्।
यस वर्ष मिस युनिभर्स नेपालले समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँग सहकार्य गर्ने घोषणा पनि गरेको छ। कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ सम्पदा घिमिरे, ILO नेपालका देश निर्देशक नुमान ओजकान र मिस युनिभर्स नेपालकी अध्यक्ष साबी पुरीको विशेष उपस्थिति रहेको थियो।














