मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले सामाजिक सन्जाल फेसबुक मार्फत लामो स्ट्याटस पोस्ट गर्दै भ्रष्ट र भू-माफिया वडा अध्यक्ष सविन सहित २६ जनाको जम्मु टिमलाई राखेर अनुसन्धान गर्नु, कारबाही गर्नु, सजाय दिनु तर दुख दिने हिसाबले नेकपाका नेताकार्यकर्ता खोज्नु पर्दैन भनेर पुलिस प्रशासनलाई भनेका छन् । असार ४ गते हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपानेमाथी जनताद्वारा कालोमोसो प्रहार भएपश्चात् आशंकाको भरमा वान्टेट लिस्टमा राखी जिल्ला प्रहरी कार्यलय मकवानपुरको टोलिले दिनरात खोजिरहँदा पनि नभेटाएका नेकपाका जिल्ला इन्चार्ज राम सीले मंगलबार एउटा स्टाटस पोस्ट गर्दै यस्तो बताएका हुन् ।
मंगलबार समृद्ध समाज राष्ट्रिय दैनिक पत्रीकामा वडाध्यक्ष सविन न्यौपाने र स्थानिय दिनेश वाइबा सहितको टिमले गरेको कर्तुत प्रकाशन भए पश्चात् राम सीले हेटौंडा-१, चौकिटोल स्थित राप्ती किनारको विवादित सार्वजनिक जमिन संरक्षणको विषयमा सबै निकायमा नेकपाले गरेको पहल र अन्त्यमा जनताद्वारा वडाध्यक्षमाथी कालोमोसो प्रहार गरि गरेको सांकेतिक कारबाही जायज भएको घोषणा गरेका छन् । विभिन्न राजनीतिक दल र संघसंस्थाको साथमा सार्वजनिक जमिन संरक्षण समिती बनाइ हरेक तह तप्कामा पहल गर्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नभएको अन्ततः पुलिस प्रशासन समेत लागि परि आफ्नै खेदो खन्दै नेकपाका नेताकार्यकर्ता र समर्थक जनताको घरघरमा गइ दुख दिइएको विषयप्रती सामाजिक संजाल मार्फत राम सीले दुख व्यक्त गरेका छन् ।
बेथिति, अनियमितता, जग्गा अतिक्रमणको विषयमा सँगै बोल्ने, आवाज उठाउने र वडा अध्यक्ष सबिन न्यौपाने सहित २६ जना भू-माफियाहरुको कर्तुत बाहिर ल्याउन निरन्तर पहल गरिरहने राजनीतिक दलहरु, पत्रकार, अनुसन्धानकर्मी, अभियान्ताहरु सहित आम सुकुम्बासी/गैर सुकुम्बासी जनतालाई राम सीले स्टाटस मार्फत नै धन्यवाद दिएका छन् ।
स्टाटसको पूर्ण पाठ:-“मकवानपुर प्रहरिले खोजिरहेको नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज म राम सी प्रहरी सँग लुकामारी खेल्दै छु । लडाइँ केका लागि ? प्रश्नको उत्तर पढनुहोस । हेटौंडा-१, चौकीटोल-जरुवाटोल तरकारी शब्जीमन्डीको उत्तरी भागमा रहेको सार्वजनिक जमिन वडा अध्यक्ष सबिन न्यौपाने सहित २६ जनाको मिलेमतोमा भु-माफियाकरण भएको छ । सुकुम्बासीलाई जमिन छैन तर भु माफियाले जमिन कब्जा गरेको छ । हेटौंडा अस्पताल बचाउ तथा सुधार समितिको अभियान्ताले सार्वजनिक जमिन संरक्षण गर्न सिडियो कार्यालय, मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।
नेकपाको पहलमा गठित सार्वजनिक जमिन संरक्षण समितीले सार्वजनिक जमिनको संरक्षण गर्न र भुमिहिन सुकुम्बासी जनतालाई जमिनको व्यवस्था गर्न सुकुम्बासी जनताले मिति २०८२ जेष्ठ १४ गते सडक प्रदर्शन, सिडियो कार्यालय, भुमी समस्या समाधान आयोग, हेटौंडा उपमहानगरपालिकाका मेयरको कार्यकक्षमा ज्ञापनपत्र बुझाइयो र हेटौंडा-१ का वडा अध्यक्ष सबिन न्यौपानेलाई समेत ज्ञापनपत्र पेश गरेको थियो । सार्वजनिक जमिन संरक्षण गर्न राजनीतिक दलको तर्फबाट विप्लव नेतृत्वको नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा, नेकपा माले सहित ९ दलले जिल्ला प्रशासन कार्यालय, सिडियो र हेटौंडा उपमहानगरपालिकाका मेयरलाई सुकुम्बासी आन्दोलनमा एक्यवद्धता जनाउँदै ध्यानाकर्षण गरिएको थियो ।
जति पटक भने पनि राज्यका निकायहरु कानमा तेल हालेर बसे पछि मिति २०८२ असार २ गते जरुवाटोलमा सुकुम्बासी प्रदर्शन हुँदा सुकुम्बासी जनता र भु-माफिया बिचको झडपको स्थिति बन्दा प्रहरी मुखदर्शक बन्यो । सिडियो को रोहवरमा जिल्ला प्रशासन कार्यालयमा नेकपाको नेतृत्व सहित सुकुम्बासीका नेतृत्व र प्रहरी डिएसपी, माफिया वडा अध्यक्ष सबिन न्यौपाने, केही बिचौलिया रानाको वारेशवाला दिनेश वाइवा बिच छलफलमा प्रशासनले माफियाकै पक्षमा बहस सुरु गर्यो र सुकुम्बासीको प्रतिनिधिलाई थुन्ने धम्की सिडियोले दिएको देखिन्थ्यो । सुकुम्बासी जनताले भु-माफिया वडा अध्यक्ष सबिन न्यौपाने माथी मिति २०८२ असार ४ गते कालोमोसो दलि जनकारबाही गरेको थियो । सुकुम्बासी जनता आफ्नो बासको लागि हेटौंडा-११, थानाभर्याङ ड्यामसाइट्मा बस्ती बस्ने क्रममा मकवानपुर प्रहरीले बिक्रम थिङ सहित ५ जनालाई बिना कारण गिरफ्तार गरि हिरासतमा राखी दुख दियो । मनहरी-२ का सोम बहदुर स्याङतान भाइको घरका बुबा, आमा, दाइ, भाइ र मामा लाई प्रहरीले रातको समयमा धम्की दिँदै कुटपिट गरि हिरासतमा लगि राख्यो । युवा संगठनका केन्द्रिय सदस्य रमेश सीको छोरा सन्जिब रुम्बालाई कुटपिट गरि हिरासत राख्यो र कान्छो भाइ जित बहदुर रुम्बालाई पनि कुटपिट गरि हिरासतमा यातना दिइरहेको छ । मेरो भाइ बिक्रम घलानलाई पनि बिना कारण घरबाट गिरफ्तार गरि हिरासतमा राखियो । काइला भाइ बिबेकलाई नि खोजिरहेको छ । प्रहरीले जो भेट्यो त्यसलाई गिरफ्तार गर्ने र जनतामा आतंक सृजना गर्ने काम गर्दै आइयो । प्रहरिले राम घलानको छोरा हो भनी बाटोमा हिडिरहेका मान्छे समात्यो । प्रहरीले मेरो श्रीमातिलाई खोजिरहेको छ । रमेश भाइको श्रीमातिलाई प्रहरीले टर्चर दिइरहेको छ ।
सामाजिक अभियन्ता बिशालराज महत र अधिवक्ता केशब गौतमलाई समेत समात्ने भनी प्रहरी एसपीले धम्की दिन्छ । अदालतबाट बिशालराजलाई समात्न नमिल्ने स्टेअर्डर लिनु पर्यो । कति लाजमर्दो व्यबहार प्रहरीको पनि ! कांग्रेसबाट निर्वाचित ९ वटा वडाका अध्यक्षले कालोमोसो दल्ने दोषीलाई प्रहरीले किन नसमातेको भनी दबाबको लागि जिल्ला प्रशासन कार्यालयबाट सेवा दिन २ दिने आन्दोलन स्वरुप वडा अध्यक्ष र वडा कार्यालय लेखेको प्ले कार्ड घाटिमा झुन्डाइ आन्दोलन समेत गरे । जनतामा बिना कारण धरपकड र जनतालाई दुख दिएको बिषयमा नेकपाले धेरै पटक बिज्ञप्ति निकाल्यो र नेसपा, जसपा, नेकपा, नाउपा सहित ५ दलले संयुक्त बिज्ञप्ति निकाले । उक्त सार्वजनिक जमिन हेटौंडा उपमहानगरले मदन भन्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठानलाई दिएको देखिन्छ । उक्त जग्गामा प्रहरीले चौकिटोल प्रहरी चौकी र र्याप सेन्टर राखौ भन्छ । सशस्त्र प्रहरीले सशस्त्रको कार्यालय राखौ भन्छ । भु-माफियाले बाडफाट गरी बिक्रि बितरण गर्छ ।भुमिहिन सुकुम्बासी बास खोज्छ । यस्तै चलेको थियो ।मिति २०८२ श्रावण १३ गते हेटौंडा-१ का वडा अध्यक्ष सबिन न्यौपाने सहित २६ जनाको नियतपुर्ण कर्तुत हेटौंडा समृद्ध समाज राष्ट्रिय दैनिक पत्रीकाको पहिलो पेजमा प्रमाण सहित सार्वजनिक भएको समाचारले हेटौंडा, बागमती प्रदेश र संघिय राजधानी काठमाडौंलाई हल्लाई दियो । समाचारले फेसबुक पेजहरु तातिरहेको छ ।
सुकुम्बासी जनता, अभियन्ता र राजनीतिक दलहरुले भनी रहेका छन कि के अब भ्रष्ट र भु-माफिया वडा अध्यक्ष सबिन न्यौपाने सहितको २६ जनालाइ जिल्ला प्रशासन मकवानपुर, जिल्ला अदालत, जिल्ला प्रहरी मकवानपुर, अख्तियार, हेटौंडा उपमहानगरपालिका, भुमी समस्या समाधान आयोग, प्रदेश सरकार, संघिय सरकारले कारबाहीको दायरामा ल्याउला ? भन्ने प्रश्न छ । गल्ती नगरेको जनतालाई प्रहरी हिरासतमा राख्ने होइन बरु भ्रष्ट र भु- माफिया वडा अध्यक्ष सबिन सहित २६ जनाको जम्मु टिमलाई राखेर अनुसन्धान गर्नु । कारबाही गर्नु । सजाय दिनु । यो नै जाइज होला । दुख दिने हिसाबले नेकपाका नेताकार्यकर्ता खोज्नु पर्दैन । समाजिक अभियान्ता र अधिवक्ताहरुलाई खोज्नु पर्दैन ।वडा अध्यक्ष माथी जनताले कालोमोसो दलेको बिषय सहि साबित भएको छ । कालोमोसो दल्ने सुकुम्बासी युवाहरु प्रती रातो सलाम छ ।
युवाहरुलाई बधाई छ । भ्रष्ट जनप्रतिनिधिलाई यसरी नै कारबाही गर्ने हो किन कि सरकारले कारबाही गर्दैन सुरक्षा दिन्छ । ९०% जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारि छन । भु- माफिया हेटौंडा -१ का वडा अध्यक्ष सबिन न्यौपानेको कर्तुतमा कागजजात मिलाउने कार्यमा हेटौंडा -१ का वडा सचीव समेतको सामेल देखिन्छ । किन कि समृद्ध समाजमा आएको समाचारमा खन्डन गरेको देखिन्छ । समाचार खन्डनको कुनै तुक छैन किन भने सबै कागजात हेटौंडा -१ का वडा कार्यालय बाटै गएको हो । बेथिति , अनियमितता गर्ने वडा अध्यक्ष सबिन न्यौपाने सहित २६ जना भु-माफियाहरुको कर्तुत जनतामा ल्याउन निरन्तर मिहिनेत गरिरहनु भएका राजनीतिक दलहरु, पत्रकार, अनुसन्धानकर्मी, अभियान्ताहरु, अभियान्ताका संयोजक विशालराज महत र सत्यतथ्य समाचार सम्प्रेषण गर्ने जनपक्षीय हेटौंडा समृद्ध समाज राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक आदरणीय सुरेश श्रेष्ठ ज्युलाई न्यायपुर्ण आन्दोलनरत दल नेकपाको तर्फबाट र सचेत नागरिकको तर्फबाट हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौँ । सत्यतथ्य समाचार सम्प्रेषणका कारण धम्की, डरत्रास बाट अबिचलित भै अघि बढ्नु नेकपा मकवानपुर साथमा छौँ । धन्यवाद !”














