हेटौंडामा भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ मनाइने,तामाङ पत्रकारिता पुरस्कार स्थापना

हेटौंडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा ‘तामाङ प्रसारण दिवस’ मनाइने भएको छ । भाद्र १ गते हेटौंडामा विशेष समारोहको आयोजना गरी उत्सवको रुपमा सो दिवस मनाइने भएको हो ।

वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष संघले यो दिवस मनाउँदै आएको छ । संघका बागमती प्रदेश कार्यसमिति अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवद्र्धन र पत्रकारितामा यसको योगदानबारे छलफल हुने छ । यस्तै, कार्यक्रममा बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषालाई कार्यान्वयन पक्षमा थप सशक्त बनाउन पत्रकारिताको भूमिकाबारे अन्तरक्रिया समेत हुने उनले बताए ।

‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ पुरस्कार स्थापना

तामाङ पत्रकार संघ बागमती प्रदेश समितिले ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

पुरस्कार स्थापना राप्ती नगरपालिका–७, चितवन निवासी सफल युवा व्यवसायी तथा सञ्चारकर्मी राजेश रुम्बा लामाले आफ्ना दिवंगत बुवा आइते सिं रुम्बा र आमा बुद्धिमाया नेगीको स्मृतिमा गरेका हुन् ।

तामाङ कुलमा जन्मिएर पत्रकारिता गरिरहेका देशभरका पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापित संघको बागमती प्रदेश समिति तामाङ समुदायको हक–हित, पहिचान, भाषा, संस्कृति तथा कला–साहित्य संरक्षण र प्रवद्र्धनमा क्रियाशील रहँदै आएको छ ।

संघका सचिव दिल बहादुर रुम्बा तामाङका अनुसार, हरेक वर्ष बागमती प्रदेशभित्र क्रियाशील एक जना तामाङ पत्रकारलाई प्रदान गरिने यो पुरस्कारको राशि १० हजार १ सय रुपैयाँ रहनेछ। पुरस्कार प्रत्येक वर्ष तामाङ प्रसारण दिवसको अवसरमा आयोजित विशेष समारोहका बीच प्रदान गरिने उनले बताए ।

पुरस्कारसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार तामाङ पत्रकार संघ बागमती प्रदेश समितिलाई रहने संघले एक विज्ञप्ति मार्फत जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.