काठमाडौँमा ‘जेन जि’ युवामाथि गोली प्रहार, २० विद्यार्थीको मृत्यु र सयौँ घाइते

काठमाडौं, भदौ २३ गते । काठमाडौँमा आज ‘जेन जि’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण बृहत् जनसभामाथि राज्यपक्षबाट गोली प्रहार भएको छ। शान्तिपूर्ण विरोधलाई दबाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा करिब २० जना विद्यार्थीको मृत्यु भएको र सयौँ घाइते भएको बताइएको छ।

घटनापछि काठमाडौँका अस्पतालहरूमा घाइते विद्यार्थीहरूको भीड लाग्दा उपचारका लागि बस्ने ठाउँ समेत अपुग भएको छ। धेरै विद्यार्थीहरू गम्भीर अवस्थामा रहेको चिकित्सकहरूले जनाएका छन्।

विद्यार्थीहरूले देशभर सुरू गरेको यो अभियान भ्रष्टाचार, असमानता र मौलिक हक खोसिएको विरुद्धमा केन्द्रीत थियो। विशेषगरी सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय ल्याएपछि नयाँ पुस्ताले आफ्नो आवाज दबाइएको भन्दै देशव्यापी रूपमा जनसभा आयोजना गरेका थिए।

राजधानी काठमाडौँमा भएको घटनालाई राजनीतिक इतिहासकै कालो दिनको रूपमा लिइएको छ। यसअघि भएका आन्दोलनमा समेत यस्तो क्रुरतापूर्वक निरीह कदम नचालिएको उल्लेख गर्दै विद्यार्थीहरूले राज्यको कदमलाई असंवैधानिक र अमानवीय भनेका छन्।

काठमाडौँ उपत्यकामा भएको ठूलो क्षतिपछि प्रशासनले कर्फ्यु समेत जारी गरेको छ। पोखरा, झापा र मकवानपुरमा पनि विद्यार्थीहरूले प्रदर्शन गरे पनि त्यहाँ मानवीय क्षति भने भएको छैन। मकवानपुरको हेटौँडामा भने साँझसम्म बाक्लो सुरक्षा तैनाथ गरिएको थियो।

विद्यार्थीहरूले भने आफूहरूको आन्दोलन कुनै राजनीतिक दलसँग आबद्ध नभई शुद्ध नागरिक अधिकार र पारदर्शिता–जवाफदेहिताका लागि गरिएको दाबी गरेका छन्। तर आजको घटनामा कतै न कतै घुसपैठ भएको आशंका उनीहरूले व्यक्त गरेका छन्।

यस आन्दोलनले भोलि कस्तो मोड लिन्छ भन्ने चासो देशव्यापी रूपमा बढेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.