काठमाडौं, भदौ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (केन्द्रीय समिति) ले आज भदौ २३ गते आइतवारदेखि शुरु भएको नयाँ पुस्ताको आन्दोलन (जेन जेड संघर्ष) प्रति आफ्नो समर्थन जनाउँदै सरकारले हिंसात्मक दमन नगरी संवाद र वार्तामार्फत समस्या समाधान गर्नुपर्ने माग गरेको छ।
पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा जेन जेड संघर्षलाई राजनीतिक पार्टीहरूसँग कुनै सम्पर्क नरहेको स्पष्ट पार्दै, स्वतःस्फूर्त रूपमा अघि बढेको आन्दोलनलाई सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “समाजका समस्यालाई दमनले होइन, संवाद र सहमतिले मात्र समाधान गर्न सकिन्छ। सरकारलाई अवरोध रोक्न, वार्ताबाट समस्या समाधान गर्न र दमन तत्काल बन्द गर्न आग्रह गर्दछौं।”
त्यस्तै, संघर्षरत पक्षलाई समयमै न्याय दिलाउन, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि नेकपाले माग गरेको छ।














