नेपाल पत्रकार महासंघद्वारा शान्तिपूर्ण समाधान र प्रेस स्वतन्त्रता संरक्षणको अपिल

काठमाडौं, भदौ २६ गते । नेपाल पत्रकार महासंघले हाल जेनजी पुस्ताको आन्दोलनले उत्पन्न गरेको विषम परिस्थितिमा संयमित र संवेदनशील हुँदै मुलुकलाई सुरक्षित निकास दिन सबै सरोकारवालालाई अपिल गरेको छ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्मको आन्दोलनमा २३ जनाले ज्यान गुमाएको र बालबालिका तथा सुरक्षाकर्मी सहित हजारौं घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ। साथै आन्दोलनका क्रममा चार जना पत्रकार गोली लागि घाइते भएको र विभिन्न मिडिया हाउसमाथि आक्रमण तथा आगजनी हुनु दुःखद र आपत्तिजनक भएको भन्दै राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।

विज्ञप्तिमा आन्दोलनका नाममा सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचना र सञ्चार गृहमा पुर्‍याइएको क्षतिको निन्दा गर्दै यसको दीर्घकालीन असर मुलुकले व्यहोर्नुपर्ने चेतावनी दिइएको छ। महासंघले युवा पुस्ताले उठाएका संरचनागत सुधार र सुशासनका मागलाई सम्बोधन गर्न गम्भीर विमर्श आवश्यक रहेको बताउँदै लोकतान्त्रिक प्रक्रिया मार्फत मात्र समाधान खोज्न सकिनेमा जोड दिएको छ।

महासंघले संक्रमणकालीन अवस्थाको शीघ्र अन्त्यका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक पहल गर्दै संवाद र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने र सरकार निर्माणलगायतका सबै पहल राष्ट्रपतिबाटै हुनुपर्ने धारणा सार्वजनिक गरेको छ।

महासंघले अन्त्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण हुन नदिन आग्रह गर्दै इतिहासको यस कठिन मोडमा सबै पक्ष संयमित, जिम्मेवार र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.