हेटौडा, अशोज २ गते । नेपालको राजनीतिक इतिहासमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरूले परिवर्तनको आधार तयार पारेको पृष्ठभूमिमा हालै सम्पन्न जेन-जी आन्दोलनलाई सामाजिक अभियन्ता विशालराज महतले ऐतिहासिक निरन्तरता भएको टिप्पणी गरेका छन् ।
राणा विरोधी आन्दोलनदेखि निर्दलीय व्यवस्थाविरुद्धको लडाइँ, २०४६ को जनआन्दोलन, माओवादी सशस्त्र संघर्ष र २०६२/६३ को जनआन्दोलन हुँदै गणतन्त्र स्थापना भएको स्मरण गर्दै उनले प्रत्येक आन्दोलन आफ्ना कारणले जन्मिएको र त्यसले मुलुकलाई नयाँ बाटोमा डोर्याएको बताएका छन्।
“जेन-जी पुस्ताले अनियमिता, बेथिति र भ्रष्टाचारविरुद्ध क्रान्ति गरेका हुन्। समाज र राष्ट्रको चिन्तामा यो पुस्ताले चासो मात्र होइन, क्रान्ति गर्ने हिम्मत देखाएको छ। त्यसलाई हामी सबैले सम्मान गर्नुपर्छ,” सामाजिक अभियन्ता महतले भने ।
उनका अनुसार नयाँ पुस्ताले सडकमा उत्रनुको मुख्य कारण विगतका नेताहरूको अकर्मण्यता, कुशासन र अधिनायकवादी सोच थियो। निर्दोष युवामाथि भएको दमन र त्यसपछिको देशव्यापी प्रतिरोधले ७२ घण्टामै सरकारले घुँडा टेक्न बाध्य भएको उल्लेख गर्दै महतले अब सबैले विगतका कटुता बिर्सेर सुशासन र समृद्धि तर्फ लाग्नु आजको आवश्यकता भएको बताएका छन् ।














