शिक्षामन्त्री महावीर पुनका तीन पहल : कम्प्युटर शिक्षक दरबन्दी, छिटो नतिजा र विश्वविद्यालय सुन्दरिकरण

काठमाडौं, अशोज ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री वैज्ञानिक डा. महावीर पुनले पदभार सम्हाले लगत्तै विद्यार्थी तथा शैक्षिक क्षेत्रलाई लक्षित गरी तीन वटा महत्वपूर्ण पहल अघि सारेका छन्।

पहिलो पहलका रूपमा, उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरू कम्प्युटर शिक्षा बाट वञ्चित नहून् भन्ने उद्देश्यले हरेक विद्यालयमा अनिवार्य रूपमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने तयारी गरेका छन्। यस कदमले डिजिटल शिक्षा र प्रविधि पहुँच विस्तारमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

दोस्रो पहल अन्तर्गत, मन्त्री पुनले केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल प्रकाशित गर्न ८ महिना देखि १ वर्षसम्म लगाउने परम्परालाई अन्त्य गर्दै बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने तयारी गरेका छन्। समयमा परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान समेत रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन्। उनले उदाहरणका लागि राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका पाँच लाख विद्यार्थीको परीक्षाफल तीन महिनाभित्रै प्रकाशन गर्ने गरेको कुरा औँल्याएका छन्।

तेस्रो पहलका रूपमा, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरभित्र फैलिएको ठूलो झाडी सफा गरी (ठूलो रुख नकटाई) सुन्दर बगैँचा र पदमार्ग निर्माण गर्ने योजना अघि सारिएको छ। यसले विश्वविद्यालयलाई थप आकर्षक बनाउने र वातावरणीय सन्तुलनमा समेत सहयोग गर्ने विश्वास गरिएको छ।

यी तीन ससाना तर महत्वपूर्ण निर्णयहरूले मन्त्री पुनले विद्यार्थीमैत्री सुधारतर्फ लिएको सुरुवाती कदमका रूपमा व्यापक चर्चा पाइरहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.