काठमाडौं, अशोज २६ गते । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले पराजित गरेको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले एशोसियट राष्ट्रबीचको परम्परागत प्रतिद्वन्द्वितामा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल बनायो। १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले पनि उत्कृष्ट लय देखाए तर अन्तिम क्षणमा दबाब झेल्न नसक्दा २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै समेटियो।
नेपालका बलरहरू निर्णायक अवस्थामा चम्किए। दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट झारे।
यूएईका लागि अलिशान सराफू र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए। तर सराफूको विकेट गएपछि यूएईको ब्याटिङ लय विखण्डित भयो। अन्तिम ओभरमा ३ बलमा ३ रन आवश्यक रहेको अवस्थामा आक्रामक ब्याटर ध्रुव परासर दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराद्वारा क्याच आउट भए। त्यसपछि हैदर अली रन आउट हुँदा यूएई १ रनले पराजित भयो।
यसअघि, नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ५१ रन बनाए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन योगदान गरे भने अन्त्यतिर गुल्सन झाले ५ बलमा १५ रन (२ चौका, १ छक्का) प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए।
यूएईका मोहम्मद रोहिद, हैदर अली, जाहिद अली, हर्सिक कौशिक र ध्रुव परासरले समान १–१ विकेट लिएका थिए।
यो जितसँगै नेपालले सुपर सिक्स चरणमा विजयी सुरुवात गर्दै विश्वकप छनोटको लक्ष्यतर्फ ठूला पाइला चालेको छ। समूह ‘बी’बाट जापान र कुवेतलाई हराउँदै अविजित रूपमा सुपर सिक्स पुगेको नेपालले अब सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।














