जेन–जी आन्दोलनपछि हेटौडा–१३ वडामा ‘आत्मसमीक्षा र सुधारको बाटोमा स्थानीय सरकार’ — वडाध्यक्ष पेम्बा लामाको भनाइ

हेटौंडा, अशोज ३० गते । हालै देशभर देखिएको जेन–जी आन्दोलनले नेपालका युवा पुस्ताको असन्तुष्टि र राजनीतिक प्रणालीप्रति अविश्वासको संकेत दिएको छ। हेटौंडा–१३ वडामा पनि त्यस आन्दोलनको प्रभाव देखिएको भए तापनि, सो क्षेत्रमा आगजनी वा तोडफोडका घटना हुन नपाउनुमा स्थानीय युवाको सजगता र जिम्मेवार भूमिकाको उल्लेख गर्दै वडाध्यक्ष पेम्बा लामाले स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई प्रमुख कारणका रूपमा औंल्याएका छन्।

वडाध्यक्ष लामाका अनुसार, “हामीले सो समय युवाहरूसँग संवाद गर्दै, यो वडा कार्यालय केवल सरकारको सम्पत्ति होइन — हाम्रो आफ्नै सम्पत्ति हो भन्ने सन्देश दिएका थियौं। त्यसैले सम्भावित तोडफोडका घटना नियन्त्रणमा रहन सके।”

जेन–जी आन्दोलनप्रति बुझाइ र सरकारप्रतिको असन्तुष्टि

लामाले हालको आन्दोलनलाई युवाहरूको असन्तुष्टि र अपेक्षा पूरा नहुनुका परिणामका रूपमा व्याख्या गरे। उनका अनुसार, सरकार जनतामुखी नबन्दा र नीति–नियमहरूमा नागरिक सरोकार समेट्न नसक्दा यस्तो परिस्थितिको जन्म भएको हो। “सरकारले जनतालाई बुझ्ने, सुन्ने र अन्तर्क्रिया गर्ने नीतिगत ढाँचा विकास गर्न सकेको छैन। त्यसैले असन्तोष विस्फोटको रूपमा प्रकट भएको हो,” उनले भने।

आन्दोलनपछि वडाको कार्यशैली र सेवा प्रवाह

आन्दोलनपछि केही वडाहरूमा कामको गति सुस्ताएको जनमान्यता रहे पनि वडाध्यक्ष लामाले आफ्नो वडामा भने सेवा प्रवाहमा कुनै अवरोध नआएको दाबी गरे। “नगरपालिकाले बन्दको निर्देशन दिँदा पनि हामीले वडा कार्यालय निरन्तर चलाइरहेका थियौं। जनताका सेवा सुविधा कहिल्यै रोकिएका छैनन्,” उनले बताए।

लामाका अनुसार, अहिले वडाले निर्माण र विकासका कामहरूलाई पुनः गति दिइरहेको छ। “पुराना अधुरा कामहरू निरन्तरता दिइरहेका छौं, नयाँ योजनाहरू पनि क्रमशः अघि बढिरहेका छन्,” उनले स्पष्ट पारे।

‘राजनीतिक प्रतिशोध र अराजक तत्वको फाइदा उठाउने प्रयास’

वडाध्यक्ष लामाले जेन–जी आन्दोलनको अन्त्यतिर वडालाई लक्षित गरेर भएको रात्रीआक्रमणलाई राजनीतिक उद्देश्यले प्रेरित घटना बताएका छन्। उनले भने, “त्यो समयमा आन्दोलन सकिएको थियो, सैनिकले नियन्त्रण लिइसकेको थियो। तर राति १० बजे केही व्यक्तिहरूले १३ नम्बर वडा कार्यालयलाई टार्गेट बनाए। ती वास्तविक जेन–जी युवाहरू होइनन्, बरु उनीहरूलाई मोहरा बनाएर केही स्वार्थी राजनीतिक तत्वहरूले अवसर खोजे।”

उनको भनाइमा, सो घटनाको प्रयोजन व्यक्तिगत रिसइबी भन्दा पनि राजनीतिक प्रतिशोध थियो। “हामीले आफ्नो तवरबाट कार्यालय जोगाउन सफल भयौं,” उनले थपे।

‘विकासमा निरन्तरता, तर राजनीतिक समन्वयमा चुनौती’

लामाले वडास्तरमा हुने विकासका कामहरूमा अब डिजिटल प्रविधि र पारदर्शिता जोड्ने योजना रहेको बताए।
“यो डिजिटल युग हो। युवाहरूले कार्यशैलीमा परिवर्तन खोज्नु स्वाभाविक हो। हामी पनि समयसापेक्ष रूपमा अघि बढ्नुपर्ने बेला आएको छ,” उनले भने। तर उनले स्वीकार गरे, सबै राजनीतिक दलहरूका मनोभाव र विचार एउटै नहुने भएकाले कतिपय प्रयासहरूमा सहकार्यको कठिनाइ पनि हुने गरेको छ। “म सबैसँग मिलेर अघि बढ्न चाहन्छु, तर सबैलाई सन्तुष्ट पार्न सधैं सम्भव हुँदैन,” उनले भने।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.