काठमाडौँ, कार्तिक ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व भव्यरूपमा मनाउन उपत्यकाका विभिन्न आठ स्थानमा विशेष व्यवस्था गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब अगाडि, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटलाई छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा तयारी गरिएको जानकारी दिएको छ।
उनका अनुसार यी स्थलहरूमा केही दिनदेखि सरसफाइ अभियान चलाइँदै आएको छ। पाण्डेले भक्तजनलाई छठ घाटका वरिपरि सवारी साधन पार्किङ नगर्न र कुनै समस्या परे महानगरसँग सम्पर्क गर्न आग्रह गरे। साथै, तोकिएका स्थानहरूमा श्रद्धालुहरूबाट कुनै शुल्क असुल्न नपाइने स्पष्ट पारेका छन्।
छठ पर्वका क्रममा करिब साढे तीन सय सरसफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरिने बताइएको छ। महानगरले भक्तजनको सहजताका लागि आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ।
मुख्य रूपमा तराई क्षेत्रमा मनाइने यो पर्व अहिले हिमाल र पहाडी क्षेत्रसम्म पनि विस्तार हुँदै गएको छ। पोखरी, तालतलैया र नदीकिनारमा सजाइएका सुन्दर घाटहरूमा भक्तजनहरूले केराका थम्बा र झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै उल्लासपूर्वक छठ पर्व मनाउने परम्परा रहि आएको छ।














