काठमाडौँ, कार्तिक १२ गते । नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा बरिष्ठ प्रहरी अधिकारी एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध रूपमा षड्यन्त्र र नकारात्मक प्रचार अभियान सुरु भएको खुलासा भएको छ।
भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संकटको घडीमा दृढ नेतृत्व देखाएका कार्की संगठनभित्र निर्णय क्षमताका कारण “निकास दिने अधिकारी” का रूपमा परिचित छन्। अन्य एआईजीहरूले उक्त जिम्मेवारी लिन अस्वीकार गर्दा पनि उनले चुनौती पूर्ण मोर्चामा सशक्त रूपमा काम गरेका थिए।
तर, हाल उनी आफ्नै प्रतिस्पर्धी र केही बिचौलियाहरूको निशानामा परेका छन्। स्रोतका अनुसार बरियता र कार्यसम्पादन दुवैमा अग्रस्थानमा रहेका कार्की ३३औँ IGP का लागि सरकारका दृष्टिमा बलियो उम्मेदवारका रूपमा देखिएका छन्। यही कारण उनका प्रतिद्वन्द्वीहरू विभिन्न माध्यम मार्फत भ्रम फैलाउने, नकारात्मक समाचार तयार गर्ने र सामाजिक सञ्जालमा ती सामग्रीलाई बुस्ट गराउने जस्ता गतिविधि बढाइरहेका छन्।
नेपाल प्रहरीले पछिल्ला तीन IGP — ३०औँ, ३१औँ र ३२औँ — नियुक्त गर्दा बरियता र कार्यसम्पादनलाई प्रमुख मापदण्डका रूपमा लिएको उदाहरणलाई हेर्दा, कार्कीको नाम स्वाभाविक रूपमा शीर्ष सूचीमा रहेको बुझिन्छ। तर, उनको सम्भावना बढ्दै जाँदा नियोजित रूपमा विवाद सिर्जना गर्ने प्रयास तीव्र बन्दै गएको संकेत प्रहरी निकाय भित्रैबाट प्राप्त भएको छ।














