हेटौंडा, कात्तिक २० गते । विश्व हिन्दू महासंघ नेपाल, हेटौँडा नगर समितिले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामामाथि भएको अपमान, धम्की र नारी अस्मिता माथिको आक्रमणको कडा विरोध गर्दै प्रमुख लामालाई पूर्ण साथ दिने घोषणा गरेको छ।
जेन जि आन्दोलनपछि पनि प्रमुख लामामाथि निरन्तर मानसिक यातना, अपमानजनक व्यवहार र बलात्कारसम्मका धम्की आएको भन्दै प्रमुख लामाले हालै सामाजिक सञ्जाल फेसबुक मार्फत घटना सार्वजनिक गरेकी थिइन्। उक्त घटनापछि हेटौँडामा व्यापक चर्चा र प्रतिक्रिया देखिएको छ।
यसै सन्दर्भमा बिहीबार विश्व हिन्दू महासंघ नेपाल हेटौँडा नगर समितिको टोली अध्यक्ष राजेश वाग्लेको नेतृत्वमा उपमहानगरपालिकामा पुगेर नगर प्रमुख लामालाई समर्थन पत्र बुझाएको छ।
अध्यक्ष वाग्लेले प्रमुख लामाप्रति गरिएको अपमानजन्य व्यवहार, धम्की र विभेदपूर्ण आचरणको तीव्र निन्दा गर्दै भने, “नारी अस्मिता, मानवता र व्यक्तिगत मर्यादामाथिको आक्रमण अस्वीकार्य छ। नारी शोषणमुक्त समाज निर्माणको अभियान चलिरहेको समयमा नगर प्रमुखमाथि भएको यस्तो आपराधिक व्यवहारको विरोधमा हामी दृढतापूर्वक उभिएका छौं।”
उनले यस्ता अपराधपूर्ण र विभेदयुक्त क्रियाकलापमा संलग्न हुन कसैलाई पनि नलाग्न आग्रह गर्दै, लागेका भए बेलैमा सुध्रन चेतावनी दिएका छन्। नगर प्रमुख मीना लामाले सामाजिक सञ्जालमा लेखेकी थिइन्, “हेटौँडालाई महिलामैत्री शहर बनाउने अभियान अघि बढाउँदै गर्दा केही आपराधिक मानसिकता भएका व्यक्तिहरूले आन्दोलनका नाममा मलाई बलात्कारसम्मको धम्की दिएका छन्।”
उक्त अभिव्यक्तिपछि हेटौँडा शहरमा प्रमुख लामाप्रतिको सहानुभूति र समर्थन तीव्र रूपमा फैलिएको छ भने विभिन्न संघसंस्थाले घटनाको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।














