काठमाडौं, कात्तिक २४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले विद्यालय, विश्वविद्यालय र सिटिइभिटी जस्ता शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप र चलखेलका विरुद्ध कडा चेतावनी दिएका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत मन्त्री पुनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने भए पनि राजनीतिक पार्टीहरूको संरक्षणमा शैक्षिक संस्थाको सञ्चालनमा बाधा पुर्याउने, विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
उनका अनुसार शिक्षण संस्थामा देखिएको अस्तव्यस्तता र अनावश्यक राजनीतिक गतिविधिबाट विद्यार्थी र अभिभावक दुवै त्रसित भएका छन्। “त्यस्तो अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारकै रूप हो,” मन्त्री पुनले भनेका छन्।
उनी थप्छन्, “अब फाल्गुन २१ गते हुने चुनावको प्रचारप्रसारमा व्यस्त भएर विद्यालयमा पठनपाठन नछोड्नुहोस्। शिक्षालाई राजनीति मुक्त राखौं।”
मन्त्री पुनले सर्वोच्च अदालतले यसअघि दिएको आदेश र सम्बन्धित ऐन–कानुनका प्रावधानलाई समेत उद्धृत गर्दै विद्यालय र विश्वविद्यालयमा शैक्षिक वातावरण कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
उनले अन्त्यमा नेपाली उखान “नविराउनु, नडराउनु” उद्धृत गर्दै सुधारका लागि दृढ रहन शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रेरित गरेका छन्।













