काठमाडौं, मंसिर ११ गते । प्रधानमन्त्रीको सचिवालयमा हाल देखिएको पारिवारिक नियुक्ति सम्बन्धी विवादले देशभर गम्भीर बहस र चिन्ता उत्पन्न गरेको छ। विशेषगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीका नातेदारलाई सचिवालयमा नियुक्त गरिएको आरोप सार्वजनिक भएपछि राजनीतिक तथा प्रशासनिक नैतिकताबारे प्रश्न उठेको छ।

भैरव समूहका संयोजक दिभेश शाक्य र सामाजिक अभियन्ता विशालराज महतले संयुक्त रुपमा जारी गरेको धारणा अनुसार, सचिवालयजस्तो संवेदनशील संरचनामा हुने कुनै पनि नियुक्ति पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र मेरिटोक्रेसीमा आधारित हुनुपर्छ। उनीहरूका अनुसार उठेका आरोपले सरकारको नैतिक विश्वसनीयता, संस्थागत मर्यादा र नागरिक भरोसामा प्रत्यक्ष असर पार्न सक्छ।
उनले तत्काल, निष्पक्ष र तथ्यगत छानबिनको माग गर्दै भने, “यदि आरोपहरू गलत ठहरिए, सरकारले स्पष्ट र तथ्य सहित सार्वजनिक खण्डन गर्नुपर्छ। तर प्रक्रियागत कमजोरी वा दुरुपयोग प्रमाणित भए भने प्रधानमन्त्रीज्यूकै नेतृत्वमा आवश्यक कारबाही र सुधारात्मक कदम तुरुन्त लागू हुनुपर्छ।”
भैरव समूहले सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यका सबै संरचनामा योग्यता र उत्तरदायी प्रशासनको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ।














