हेटौंडा, मंसिर १५ गते । हेटौंडा–१२ हात्तिगौडाबाट गोठदमार हुँदै चकरी जाने बाटोमा पर्ने खोलामा स्थानीय युवाहरूले अस्थायी बाँसको पुल निर्माण गरेका छन्। बुद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्ने गोठदमार र चकरीका विद्यार्थीहरू खोलामा पानी बढ्दा तथा विद्यालयले जुत्ता अनिवार्य गरेपछि हिँडडुलमा अत्यधिक समस्या भोग्न बाध्य भएपछि स्थानिय दाजुभाइहरू मिलेर यो पुल निर्माण गरिएको हो।

खोलामा वर्षेनी पानी बढ्ने, ढुंगा–माटो चिप्लो हुने र विद्यालय आउने–जाने बेला बालबालिकालाई खोलो तर्न कठिन हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। अस्थायी रूपमा बनेको बाँसको पुलले केही राहत दिएको स्थानीयले बताए।

यद्यपि, मनहरी–१ का बासिन्दाले हेटौंडा–१२ को जनप्रतिनिधि क्षेत्र बाहिर परेपनि जनहित र बालबालिकाको सुरक्षाको विषयलाई आधार बनाउँदै आगामी दिनमा स्थायी समाधानका लागि पहल गर्न आग्रह गरेका छन्। स्थानीयले जनप्रतिनिधिहरूलाई चुनावी घोषणापत्रमा समावेश झोलुङ्गे पुल वा स्थायी संरचना निर्माण गर्ने प्रतिबद्धता सम्झाउँदै गोठदमार–चकरीका विद्यार्थीलाई सुरक्षित र सहज आवत–जावत सुनिश्चित गर्न माग गरेका छन्।

स्थानीयको लामो समयदेखिको समस्या समाधानका लागि अब जनप्रतिनिधि र सम्बद्ध निकायको ध्यान जाने अपेक्षा गरिएको छ।














