हेटौंडा,पुस ६ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले पदभन्दा देश ठूलो भएको स्पष्ट गर्दै भ्रष्टाचार, बेथिति र विसंगतिको विरुद्ध सदैव निस्पक्ष रूपमा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै लामाले विगतदेखि नै जनताको मुद्दामा आवाज बुलन्द गर्दै विभिन्न अभियानमार्फत सक्रिय भूमिका निभाउँदै आएको कुरा उल्लेख गरेका हुन। “मेरो निम्ति पद ठूलो होइन, देश ठूलो हो,” भन्दै उनले देश र जनताको हितविपरीत हुने कुनै पनि कार्यको विरोधमा निरन्तर उभिने बताउएको हो।
उनले हाल चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विचार, दृष्टिकोण र राष्ट्र नेतृत्व गर्ने चाहनाप्रति समेत आफ्नो धारणा सार्वजनिक गरेको छ। लामाले नेपाली जनताले हर्क साम्पाङलाई राष्ट्र नेतृत्व गर्ने अवसर दिएको खण्डमा र उनले वास्तवमै देशको मुहार फेर्न सके, त्यही दिनदेखि आफ्नो राजनीतिक यात्रा टुंग्याउने घोषणा गरेका छन्।
देशमा सुशासन, श्रम संस्कृति र जनमुखी राजनीति स्थापनाको आवश्यकता औँल्याउँदै लामाले व्यक्तिगत पद र स्वार्थभन्दा राष्ट्र र जनताको हित सर्वोपरि हुने स्पष्ट सन्देश दिएको छ। उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक चासोका साथ हेरिएको छ।














