बङ्गलादेश, पुस १३ गते । बंगलादेश प्रिमियर लिग (BPL) अन्तर्गत ढाका क्यापिटल्स र राजशाही वारियर्सबीचको खेल सुरु हुनु केही मिनेट अघि ढाकाका सहायक प्रशिक्षक महबुब अली जाकीको आकस्मिक निधन भएको छ।
शनिबार सिलहेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टोलीको खेल–पूर्व तयारीका क्रममा ५९ वर्षीय जाकी अचानक मैदानमै ढलेका थिए। उनलाई तत्काल मेडिकल टोलीले सिपिआर (CPR) दिएर एम्बुलेन्समार्फत अल हरामैन अस्पताल पुर्याए पनि चिकित्सकहरूले मृत घोषणा गरेको बंगलादेश क्रिकेट बोर्ड (BCB) का मुख्य चिकित्सक देबाशिष चौधरीले जनाएका छन्।
नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सविरुद्धको खेल सुरु हुनुअघि घटेको यस घटनाले मैदानमा रहेका सबैलाई स्तब्ध बनाएको थियो। ढाका टोलीका अधिकारीहरूले जाकीले त्यसअघि कुनै पनि स्वास्थ्य समस्याबारे गुनासो नगरेको बताएका छन्। सन् २०१६ को टी–२० विश्वकपमा तीव्र गतिका बलर तास्किन अहमदको बलिङ एक्सनमा समस्या देखिएपछि उनीसँगै रहेर सुधारका लागि काम गरेपछि जाकी विशेष चर्चामा आएका थिए।
पूर्व तीव्र गतिका बलर जाकी सन् २००८ देखि बीसीबीको हाई पर्फर्मेन्स प्रशिक्षकका रूपमा कार्यरत रही देशको बलिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका थिए। उनको सम्मानमा खेलाडी र अधिकारीहरूले खेलअघि एक मिनेट मौन धारण गरेका थिए। बीसीबीले एक विज्ञप्ति जारी गर्दै जाकीको निधनले बंगलादेशी क्रिकेटलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।














