हेटौंडा, पुस १९ गते । हेटौंडा उपमहानगरपालिका–१३ ठुलोथलीस्थित कालिका आधारभूत विद्यालयमा बालबालिकाले पढाइ छोड्न बाध्य भएको समाचारले समाजलाई स्तब्ध बनाएको छ। तर यस्तो गम्भीर विषयप्रति निर्णायक तहमा रहेका हेटौंडा उपमहानगरपालिकाको ध्यान नपुगेको भन्दै सामाजिक अभियान्ता तथा सेवा, सहयोग र आवाज का अध्यक्ष विशाल राज महतले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महतले बिना पर्याप्त आधार गरिएको बालमैत्री स्थानीय तहको घोषणा केवल कागजी औपचारिकतामा सीमित भएको आरोप लगाएका छन्। “हामीले निरन्तर खबरदारी गर्दै आएका छौं। तर निर्णय गर्न सक्ने तहबाट नै बेवास्ता भएपछि बालबालिकाको भविष्य यस्तै अवस्थामा पुग्छ,” उनले उल्लेख गरेका छन्।
उनले राज्यको उपस्थितिका बाबजुद पनि नागरिक स्वयंले सरकारी विद्यालय जोगाउनुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। देश समग्र रूपमा भ्रष्टाचारको दलदलमा फसेको अवस्थामा शिक्षा जस्तो आधारभूत क्षेत्रमा समेत लापरवाही हुनु गम्भीर चिन्ताको विषय भएको महतको भनाइ छ।
कालिका आधारभूत विद्यालयको अवस्था सुधार गर्न तत्काल स्थानीय सरकारको ध्यानाकर्षण र ठोस कदम आवश्यक रहेको भन्दै उनले सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।














