बकैया–३ हात्तिसुँडेकामा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा दूध बजार ठप्प, किसानप्रति गाउँपालिकाको बेवास्ताप्रति विशाल राज महतको ध्यानाकर्षण

बकैया, पुस २२ गते । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेका किसानहरू बर्खे बाढीका कारण गम्भीर समस्यामा परेका छन्। बकैया खोला माथिको झोलुङ्गे पुल बर्खे बाढीले क्षतिग्रस्त भएपछि दैनिक २०० देखि २५० लिटर दूध उत्पादन गर्दै आएका १५–२० किसानको दूध समयमै बजारसम्म पुर्‍याउन नसक्दा बेचबिखन लगभग ठप्प भएको छ।

पुल क्षतिग्रस्त भएपछि सो क्षेत्रमा बससमेत सञ्चालन हुन नसकेको र वैकल्पिक मार्गको अभावमा किसानहरू ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन्। यति ठूलो प्रत्यक्ष क्षति हुँदाहुँदै पनि गाउँपालिकाले सामान्य मर्मतसमेत नगरी मौन बस्नु किसानप्रतिको बेवास्ता र आफ्नो दायित्वबाट पन्छिनु भएको स्थानीय किसानहरूको गुनासो छ।

यस विषयमा सेवा, सहयोग र आवाजमार्फत सक्रिय रहँदै आएका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत किसानहरूको समस्या सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। उनले यस्तो बेवास्ताले किसानहरू निरुत्साहित बनेको र स्थानीय सरकारलाई किसानमुखी भन्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गरेको छ।

झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा किसान मात्र नभई सोही बाटो प्रयोग गरी विद्यालय जाने विद्यार्थी तथा बालबालिकाहरू समेत दैनिक आवतजावतमा जोखिम र समस्या भोग्न बाध्य भएका छन्। स्थानीयवासीहरूले तत्काल पुल मर्मत गरी सहज आवागमनको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.