हेटौडा, माघ १ गते । थारु समुदायको मौलिक पर्व माघी संक्रान्तिको अवसरमा हेटौडा–४ स्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा आठौँ थारु माघी संक्रान्ति महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। थारु कल्याणकारी सभाको आयोजनामा सम्पन्न महोत्सवले थारु भाषा, कला र संस्कृतिको संरक्षणसँगै सामाजिक एकता र समावेशी विकासको सन्देश दिएको छ।

महोत्सवमा थारु समुदायका सहभागीहरू मौलिक भेषभूषा, सांस्कृतिक झाँकी र परम्परागत परिकारसहित उपस्थित हुँदा कार्यक्रम उत्सवमय बनेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले पानसमा दीप प्रज्वलन गर्दै तथा थारु समुदायको पहिचान झल्किने काठको ढिकी चलाएर गरेको थियो।
उद्घाटन समारोहमा बोल्दै मेयर लामाले नेपाल बहुभाषिक, बहुजातीय र बहु-सांस्कृतिक मुलुक भएको उल्लेख गर्दै सबै समुदाय आपसी सद्भाव र सहकार्यका साथ अघि बढ्नु पर्नेमा जोड दिएका थिए। थारु समुदायले आफ्नो पहिचान जोगाउन महोत्सव मार्फत दिएको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो। “यस्ता कार्यक्रमहरूले सामाजिक एकता बलियो बनाउँछन्,” मेयर लामाले भने।
थारु समुदायको ऐतिहासिक योगदान स्मरण गर्दै मेयर लामाले नेपालको सुरक्षा, पहिचान र स्वाधीनताका लागि सबै समुदायको साझा भूमिका रहेको उल्लेख गरे। उनले थारु समुदायमा निहित परम्परागत ज्ञान, सीप र औषधीय पहिचानको चर्चा गर्दै आधुनिक प्रविधिको युगमा पनि मौलिक ज्ञान संरक्षण आवश्यक रहेको बताएको छ।
माघी संक्रान्ति सबै नेपालीको साझा पर्व भएको उल्लेख गर्दै उनले हेटौडा बहु-सांस्कृतिक पहिचान बोकेको नगरका रूपमा विकसित हुँदै गएको बताए। साथै, तामाङ समुदायले होमस्टे सञ्चालनको तयारी गरिरहेको उदाहरण दिँदै थारु समुदायलाई पनि आफ्नो संस्कृति र पहिचानसँग जोडिएको होमस्टे विकास तर्फ अघि बढ्न आग्रह गरेका छन्।

विशिष्ट अतिथिका रूपमा बोल्दै थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीले माघी संक्रान्ति थारु समुदायको पहिचान जोगाउने साझा अवसर भएको बताएको छ। फरक–फरक भूगोलबाट आएर बसोबास गरिरहेका थारु समुदायलाई एउटै थलोमा एकजुट गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ थियो।
उनले यस्ता कार्यक्रमले सांस्कृतिक चेतनासँगै शिक्षा, अर्थतन्त्र र सामाजिक सशक्तीकरणमा समेत प्रेरणा दिने उल्लेख गर्दै थारु युवालाई सक्रिय र प्रतिस्पर्धी बन्न आग्रह गरे।

हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले महोत्सवलाई सकारात्मक र प्रेरणादायी सुरुवातको रूपमा मूल्याङ्कन गर्दै नेपाललाई “साझा फूलबारी” का रूपमा चित्रण गरेको छ। सबै भाषा, कला र संस्कृतिको संरक्षण नै राष्ट्रिय पहिचानको आधार भएको उनको भनाइ थियो।

यसैगरी, हेटौडा उपमहानगरपालिका–११ की वडाध्यक्ष जुना दाहालले माघी संक्रान्ति सबै समुदायले आ–आफ्नो परम्परा अनुसार मनाउँदै आएको पर्व भएको उल्लेख गर्दै सम्पूर्ण थारु समुदायलाई शुभकामना व्यक्त गरे। यस्तो सार्वजनिक उत्सवले सबै जात जातिलाई एकतामा बाँध्ने सन्देश दिएको उनको भनाइ थियो।
महोत्सवमा उप-प्रमुख राजेश बानियाँ, विभिन्न सरकारी निकायका प्रतिनिधि, विभिन्न वडाध्यक्ष, थारु कल्याणकारी सभाका पदाधिकारी, नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा सभाध्यक्षता थारु कल्याणकारी सभाका सभापति सचिदानन्द चौधरीले आफैले गरेको थियो।















