हेटौंडा उपमहानगरपालिकामा मेला सञ्चालन पारदर्शी र कानुनसम्मत हुनुपर्छ : विशाल राज महत

हेटौंडा, माघ २ गते । हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालन हुने मेला, महोत्सव तथा प्रदर्शनीहरू कानुन, कार्यविधि र जनसरोकारअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । सेवा, सहयोग र आवाजको अभियान अन्तर्गत अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जाल मार्फत मेला सञ्चालन सम्बन्धी संक्षिप्त विवरण सार्वजनिक गर्दै सुशासनको अभ्यास तर्फ पहिलो कदम चालिएको बताएको छ ।

उनले हेटौंडा उपमहानगरपालिकाले नै मेला सञ्चालनको अनुमति दिने र हेटौंडा राजपत्र २०८२/०२/२३ अनुसार मेला, महोत्सव तथा प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि लागू हुने स्पष्ट गरेको छ । कार्यविधिअनुसार नगरप्रमुख अनुगमन संयोजक रहने व्यवस्था रहेको पनि उल्लेख गरिएको छ ।

स्टाटसमा मेला केवल मनोरञ्जन वा व्यापारिक स्टलमा सीमित नभई कानुन, जिम्मेवारी र जनसरोकारसँग जोडिएको सार्वजनिक कार्यक्रम भएको उल्लेख छ । मेलामा दर्शकको बिमा अनिवार्य हुनुका साथै सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी आयोजककै हुने र दुर्घटना वा क्षति भए कानुनी उपचारको बाटो खुला रहने चेतावनी दिइएको छ ।

साथै, मेला सञ्चालन समय दिउँसो १२ बजेदेखि साँझ ७ः३० बजेसम्म तोकिएको, मनोरञ्जन तथा प्रवेश शुल्क स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने, स्टल बुकिङमा स्थानीय व्यवसाय, बागमती प्रदेशका उत्पादन र नयाँ प्रविधिलाई प्राथमिकता दिनुपर्ने प्रावधान स्मरण गराइएको छ ।

अश्लील तथा उत्तेजक कार्यक्रम, जुवा, लटरी, मादक तथा लागू पदार्थ निषेध, ध्वनि प्रदूषण नियन्त्रण, स्वच्छता, स्वास्थ्य सहायता कक्ष, आपतकालीन सम्पर्क नम्बर र आय–व्यय विवरण सुरक्षित राख्नुपर्ने विषयलाई अनिवार्य मापदण्डका रूपमा अघि सारिएको छ ।

अध्यक्ष महतले नियम पालना गर्न अनुरोध गर्दै यदि कार्यविधि उल्लङ्घन भए खबरदारी, ध्यानाकर्षण तथा कानुनी उपचारमा जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ । उनले यस कदमलाई स्थानीय तहमा सुशासन र उत्तरदायित्व स्थापित गर्ने प्रयासको सुरुआतका रूपमा लिन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.