काठमाडौं, माघ ५ गते । भारतीय भूमिमा न्युजिल्यान्डले अन्ततः त्यो सफलता हात पारेको छ, जुन वर्षौंदेखि कल्पनामा सीमित थियो। हिजो सम्पन्न तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतलाई ४१ रनले पराजित गर्दै न्युजिल्यान्डले तीन खेलको शृंखला २–१ ले जित्यो र भारतमा पहिलोपटक ओडीआई सिरिज आफ्नो नाममा लेखायो।
टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले सुरुदेखि नै आक्रामक खेल देखायो। ड्यारिल मिचेल र ग्लेन फिलिप्सको ब्याटबाट निस्किएको आतिशी रनवर्षाले भारतीय बलिङ आक्रमणलाई दबाबमा पार्यो। मिचेलले १३१ बलमा १५ चौका र ३ छक्कासहित १३७ रन जोडे भने फिलिप्सले ८८ बलमै १०६ रनको विस्फोटक शतक पूरा गरे। उनीहरूको उत्कृष्ट साझेदारीको बलमा न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३३७ रनको बलियो स्कोर बनायो। भारतका लागि अर्शदीप सिंह र हर्षित रानाले समान ३–३ विकेट लिए।
३३८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन उत्रिएको भारतले आक्रामक सुरुवात गरे पनि पावरप्लेभित्रै रोहित शर्मा र शुभमन गिल गुमायो। त्यसपछि श्रेयस अय्यर र केएल राहुल पनि सस्तैमा आउट हुँदा भारत ७१ रनमै चार विकेट गुमाएर संकटमा फस्यो। दबाबको अवस्थामा विराट कोहलीले अनुभवी कप्तानझैँ जिम्मेवारी सम्हाल्दै शतकीय इनिङ खेले। उनलाई नितिश रेड्डीले साथ दिँदै ५७ बलमा ५३ रन बनाउँदै पहिलो ओडीआई अर्धशतक पूरा गरे। अन्त्यतिर हर्षित रानाको ४३ बलमा ५२ रनको साहसी इनिङले खेललाई रोमाञ्चक बनायो, तर जितका लागि त्यो पर्याप्त भएन। भारत ४६ ओभरमै २९६ रनमा अलआउट भयो। न्युजिल्यान्डका जाचरी फक्स र क्रिश्चियन क्लार्कले समान ३–३ विकेट लिए।
यसअघि बडोदरामा भएको पहिलो खेल भारतले जितेको थियो भने राजकोटमा भएको दोस्रो खेल न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको थियो। निर्णायक खेलमा जित निकाल्दै न्युजिल्यान्डले इतिहास रच्न सफल भयो।उत्कृष्ट प्रदर्शनका लागि ड्यारिल मिचेल ‘प्लेयर अफ द म्याच’ मात्र होइन, सम्पूर्ण शृंखलाकै ‘प्लेयर अफ द सिरिज’ घोषित भए। भारतीय मैदानमै सिरिज जित्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेटमा आफ्नो नाम सुनौलो अक्षरले लेखाएको छ।













