हेटौंडा, माघ १५ गते । प्रेस सेन्टर नेपाल मकवानपुरले आफ्नो २२औँ स्थापना दिवसको अवसर पारेर शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी नेतृत्व, प्रेस सेन्टरका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रेस सेन्टर नेपाल मकवानपुरले स्थापना दिवस लक्षित कार्यक्रम आयोजना गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताइन्। उनले संगठनले आफ्नो कार्यक्षेत्रलाई सानो दायराबाट अझ ठूलो दायरामा विस्तार गर्दै पत्रकारिताको क्षमता र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्।
मकवानपुर जिल्ला बागमती प्रदेश अन्तर्गत संगठनात्मक दृष्टिले महत्वपूर्ण र गौरवपूर्ण जिल्ला भएको उल्लेख गर्दै मोक्तानले यहाँबाट प्रदेश तथा केन्द्रीय नेतृत्वसम्म पुगेका व्यक्तित्वहरू रहेको सन्दर्भ स्मरण गराइन्। उनले जिल्लाका सम्पूर्ण पत्रकारहरूलाई एक छत्रछायाँमा आबद्ध गराई निष्पक्ष, जिम्मेवार र जनपक्षीय पत्रकारिता गर्न प्रेस सेन्टरले अग्रणी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन्।

कार्यक्रमका विशेष अतिथि मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानले प्रेस सेन्टर नेपालको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै यसले वर्ग सङ्घर्ष, वैचारिक आन्दोलन, जनयुद्ध र जनआन्दोलनमार्फत नेपाललाई गणतन्त्र र संघीय व्यवस्थासम्म पुर्याउन महत्वपूर्ण योगदान दिएको बताए। २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको प्रेस सेन्टरले आगामी दिनमा पनि आफ्नो वैचारिक विरासत कायम राख्दै नयाँ उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
घलानले वर्तमान भू–राजनीतिक अवस्था र राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीप्रति सचेत रहँदै वैचारिक धरातल मजबुत बनाउन प्रेस सेन्टरको भूमिका अझ आवश्यक रहेको बताए। उनले आगामी निर्वाचनलाई लक्षित गर्दै तारा चिन्हमा मतदान गर्न आम जनतालाई आह्वान गर्ने विषयमा प्रेस सेन्टरले समेत सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभाध्यक्ष तथा प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्माले संगठनलाई यहाँसम्म ल्याउन योगदान गर्ने पूर्व अध्यक्षहरूलाई स्मरण गर्दै जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका महान शहीद कृष्णसेन ‘इच्छुक’ प्रति विशेष सम्मान सहित मौनधारण गरेको उल्लेख गर्दै उनले संविधान, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित तथा उत्पीडित जनताको आवाज बुलन्द गर्न प्रेस सेन्टर अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए।
वर्तमान राजनीतिक जटिलताबीच संविधान र लोकतन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख यात्रामा प्रेस सेन्टर नेपाल मकवानपुरले सामूहिक रूपमा कलम चलाउँदै अघि बढ्ने अध्यक्ष शर्माको भनाइ थियो।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका प्रतिनिधि, बागमती प्रदेश सचिवालयका सदस्य, प्रेस सेन्टर नेपाल मकवानपुरका पत्रकार प्रतिनिधि तथा अन्य सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल मकवानपुरका कोषाध्यक्ष तथा पत्रकार राजेश गरिब (राजेश थापा) ले गरेका थिए।














