हेटौँडा, माघ २० गते । मकवानपुर–२ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीका नेता लवशेर विष्टले आफू नाराभन्दा काममा विश्वास गर्ने नेता भएको स्पष्ट पारेका छन्। नेकपा कैलाश गाउँपालिका कमिटीद्वारा मंगलबार कालिकाटारमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले जनताका अपेक्षा पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताए।

“म बोलेर लोकप्रियता खोज्ने नेता होइन, काम गरेर भरोसा जित्न चाहन्छु,” विष्टले भने, “जनजीविका, रोजगारी, विकास र सुशासन मेरो प्राथमिक एजेन्डा हो।” उनले पार्टीप्रति जनविश्वास थप मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
बैठकमा आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध अझ बलियो बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेकपाकी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक कुमारी मोक्तानले देश र जनताको हितमा निरन्तर काम गरिरहेको एकमात्र शक्ति नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गरिन्। उनले वर्तमान अस्थिर अवस्थाबाट देशलाई सही दिशामा लैजान नेकपाले मात्रै सक्षम नेतृत्व दिन सक्ने उल्लेख गरिन्।
“नयाँ वा पुरानो पार्टीको बहसभन्दा पनि विचार र समाजवादतर्फ देशलाई अगाडि बढाउने क्षमता मुख्य कुरा हो, जुन हाम्रो पार्टीसँग छ,” मोक्तानले भनिन्।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किशोर बर्तौलाले लवशेर विष्ट अनुभवी मात्र नभई काम गरेर आफूलाई प्रमाणित गरिसकेका उम्मेदवार भएको बताए। प्रदेश कमिटी सदस्य कमल अर्याल, समानुपातिक उम्मेदवार मंगलसिं प्रजा र प्रदेश कमिटी सदस्य बालकुमार मल्लले पनि पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको समर्थनमा धारणा राखे।
गाउँ कमिटी संयोजक रविन्द्र थिङको सभाध्यक्षतामा सम्पन्न बैठकमा नेकपा प्रदेश कमिटी सदस्य सीता पुलामी मगर, ठाकुरसिं थिङसहित पालिकाका विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकले आगामी निर्वाचनमा लवशेर विष्टलाई विजयी बनाउन संगठनलाई थप चलायमान बनाउने र जनपरिचालन तीव्र पार्ने निर्णय गरेको नेकपा कैलाशका सचिव सुरेश घिमिरेले जानकारी दिए।














