मकवानपुरगढी, माघ २० गते । मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम उत्साहका साथ सम्पन्न भएका छन्। कार्यक्रमहरूमा देखिएको व्यापक जनसहभागिताले स्थानीय तहमा युवा उम्मेदवार विजय गौतमको पक्षमा चुनावी माहोल मजबुत बन्दै गएको संकेत गरेको छ।
गाउँपालिका–४ कालिखोलामा बिक्रम योन्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजकुमार खड्काले स्वागत मन्तव्य राखे। यस्तै, गाउँपालिका–२ को बासपानी कुर्लेमा गङ्गा थापाको अध्यक्षतामा र गाउँपालिका–१ आपधापमा बिकलाल लामाको अध्यक्षतामा छुट्टाछुट्टै कार्यक्रमहरू सम्पन्न भए।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पुराना राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै अब व्यवहारमा काम देखाउने नेतृत्व चाहिएको बताएका छन्। उनीहरूले युवा उम्मेदवार विजय गौतमलाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाए। धेरै स्थानीयले गौतमलाई सक्षम, इमानदार र भरोसायोग्य उम्मेदवारका रूपमा चित्रण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार विजय गौतमले यो निर्वाचन पुरानो राजनीतिक शैली परिवर्तन गर्ने अवसर भएको बताए। “जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन्,” उनले भने, “हामी सबैलाई थाहा भएका समस्याको समाधान अब टार्न मिल्दैन।”
गौतमले आफू जनताकै बीचबाट आएको उम्मेदवार भएको उल्लेख गर्दै घर–घरमा पुगेर पार्टीको एजेन्डा प्रस्तुत गर्ने अभियानलाई थप तीव्र बनाइने बताए। सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन आजको आवश्यकता भएको उनको भनाइ थियो। उनले उत्पीडित वर्ग, पछाडि पारिएका समुदाय तथा श्रमिक–किसानका हकहितका लागि नीतिगत संघर्ष गर्ने प्रतिबद्धता पनि दोहोर्याए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्यहरू प्रल्हाद लामिछाने र सर्केश घलान, तथा पार्टी मकवानपुर संयोजक भीम पाख्रिनलगायत नेताहरूले संगठन सुदृढ गर्दै घरदैलो अभियान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
वडादेखि टोल र घर–घरमा प्रत्यक्ष संवाद आवश्यक रहेको नेताहरूको भनाइसँगै, कार्यक्रममा देखिएको जनउत्साहले मकवानपुरगढीमा विजय गौतमको पक्षमा चुनावी लहर क्रमशः बलियो बन्दै गएको देखिएको छ।














