प्रतिनिधिसभा निर्वाचनमा कुनै डर र भ्रम नराखी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, माघ २६ गते । आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि भ्रम, डर वा आशंका नगरी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगले मतदातालाई आग्रह गरेको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतदाताको मत पूर्ण रूपमा गोप्य हुने भएकाले निसंकोच आफूलाई मनपरेको राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गर्न हार्दिक अपिल गरेका छन्।

उनले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनअनुसार हरेक मतदाताको मतदान गोप्य हुने स्पष्ट पार्दै, कसैले पनि कसले कसलाई मतदान गर्‍यो भन्ने कुरा थाहा नपाउने व्यवस्था रहेको बताए। “मतदान स्थलमा गोप्य कार्यकक्षको व्यवस्था गरिएको हुन्छ, जहाँ मतदाताले एक्लै मतपत्रमा छाप लगाउने व्यवस्था हुन्छ,” उनले भने।

सूचना अधिकारी घिमिरेका अनुसार मतदानको गोपनीयता सुनिश्चित गर्न निर्वाचन आयोगले सम्पूर्ण आचारसंहिता र कानुनी व्यवस्था गरेको छ। तर गोप्य मतदानको पूर्ण अर्थ बुझेर मतदाताले पनि आफ्नो व्यक्तिगत आचरणमा ध्यान दिनुपर्ने उनले बताए। “मतदान गरेपछि बाहिर कसलाई मतदान गरियो भनेर सार्वजनिक गर्नु गोप्य मतदानको मर्म विपरीत हुन्छ,” उनले स्पष्ट पारे।

उनले गोप्य मतदान कायम राख्न निर्वाचन आयोग मात्र नभई स्वयं मतदाताको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्दै, लोकतान्त्रिक अधिकार प्रयोग गर्दा जिम्मेवार बन्न सबैलाई आग्रह गरे। निर्वाचन आयोगले मतदाताको मत पूर्ण रूपमा सुरक्षित र गोप्य रहने विश्वास दिलाउँदै देशभरका मतदातालाई उत्साहपूर्वक निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.