काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापी रूपमा मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले नेपाली जनताको लोकतन्त्र प्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एक पटक सशक्त रूपमा अभिव्यक्त भएको छ।

गगनकुमार थापाले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरेका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ प्रति नेपाली कांग्रेसको तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गरेका छन्।
उनले मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वासलाई पुष्टि गरेको र अर्कोतर्फ राजनीतिक दलहरू तथा अब बन्ने सरकारलाई जन-अपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको उल्लेख गरेको छ।
केही निर्वाचन क्षेत्रमा घटेका छिटफुट घटना बाहेक समग्र रूपमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएकोमा उनले सरकार र निर्वाचन आयोग प्रति विशेष धन्यवाद व्यक्त गरे।
निर्वाचन सफल बनाउन अहोरात्र खटेका राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण सुरक्षा निकाय प्रति हार्दिक आभार र बधाई व्यक्त गर्दै उनले निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन योगदान पुर्याएका राजनीतिक दलहरू, सञ्चारकर्मीहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू प्रति पनि धन्यवाद ज्ञापन गरेका छन्।
नेपाली लोकतन्त्रको सुदृढीकरणमा आम नागरिकदेखि सरोकारवाला सबै पक्षको भूमिकालाई स्मरण गर्दै थापाले लोकतान्त्रिक अभ्यासलाई अझ सबल बनाउँदै लैजान सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।














