निर्वाचन परिणामको प्रभाव: नेप्सेमा उछाल, कारोबार सुरु भएको १ मिनेटमै सर्किट ब्रेक

काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको सेयर बजारमा सोमबार उल्लेख्य उत्साह देखिएको छ। कारोबार सुरु भएको केही क्षणमै बजार तीव्र रूपमा उकालो लाग्दा सर्किट ब्रेक समेत लागेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको करिब १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो। बजार एकैपटक तीव्र गतिमा बढेपछि नियमानुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।

सर्किट ब्रेक लाग्दासम्म नेप्से सूचक १०८ अंक अर्थात् करिब ४ प्रतिशतले वृद्धि भई २८२१ अंकमा पुगेको थियो। नेप्सेको व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र बजार ४ प्रतिशतले बढे वा घटेमा सर्किट ब्रेक लगाइने प्रावधान छ।

निर्वाचनपछि देशभर मतगणना जारी रहेको छ। प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुग्ने संकेत देखिएपछि बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको विश्लेषकहरूको भनाइ छ। राजनीतिक स्थायित्वको अपेक्षाले पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ।

पहिलो सर्किट ब्रेक लाग्दासम्म बजारमा सबै समूहका सूचक हरियाली देखिएका छन्। सो अवधिमा २२५ वटा कम्पनीको सेयर मूल्य बढेको थियो भने अधिकांश लगानीकर्ता खरिदतर्फ आकर्षित देखिएका छन्।

विश्लेषकहरूका अनुसार चुनावी परिणामले लगानीकर्तामा सकारात्मक मनोविज्ञान सिर्जना गर्दा बजारमा यस्तो तीव्र उछाल देखिएको हो। आगामी दिनमा राजनीतिक अवस्थाको स्पष्टता र आर्थिक नीतिको संकेतसँगै बजारको दिशा अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.