काठमाडौँ, फागुन ३० गते । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास तथा सवारी साधनका लागि प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने गतिविधिमाथि निगरानी कडा बनाएको छ।
हाल ग्यास र इन्धन हुँदाहुँदै पनि “अभाव भयो” भन्ने गलत सूचना फैलाएर उपभोक्तालाई उपलब्ध नगराउने तथा बढी मूल्य असुल्ने गुनासो बढ्न थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ।
महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्यास छैन भन्ने झुटो सूचना प्रवाह गरेर मूल्य वृद्धि गराउने र सर्वसाधारणको जनजीवनमा समस्या सिर्जना गर्नेहरूमाथि कडा कारबाही गरिने बताएका छन्।
उनका अनुसार नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यमा खरिद–बिक्री गर्न व्यवसायी र उपभोक्तालाई महानगरले अनुरोध गरेको छ।
काफ्लेले ग्यास अभाव हुने आशंकाले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास माग गर्ने प्रवृत्ति पनि देखिएको बताए। यसरी सञ्चिति गर्न थाल्दा माग र आपूर्तिको सन्तुलन बिग्रने र अभावको अवस्था झन् बढ्न सक्ने उनको भनाइ छ। त्यसैले उपभोक्तालाई पनि जिम्मेवार ढंगले ग्यास माग गर्न आग्रह गरिएको छ।
त्यस्तै, केही पेट्रोल पम्पहरूले मौज्दात इन्धन हुँदाहुँदै पनि सवारी साधनलाई उपलब्ध नगराएको सूचना आएको भन्दै महानगरले त्यसतर्फ पनि निगरानी बढाएको जनाएको छ।
ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी हुने गतिविधि देखिएमा तथ्यसहित महानगरको हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा जानकारी गराउन महानगरले आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा आवश्यक निगरानी तथा कारबाही गरिने जनाइएको छ।
यसैबीच, ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास आपूर्ति हालसम्म नियमित रहेको छ। तर माग बढेकाले केही स्थानमा अभाव देखिएको हुन सक्ने उनले बताए। उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चिति नगरे समस्या नआउने उनको भनाइ छ।














