काठमाडौं, चैत १९ गते । हर्क साम्पाङले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद साम्पाङले एमसीसी सम्झौता राष्ट्रहितविपरीत रहेको दाबी गरे। उनले उक्त सम्झौताले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वाधीनतामा असर पार्ने आशंका व्यक्त गरे।
साम्पाङले आफू संसदमा जनताको आवाज प्रतिनिधित्व गर्न आएको उल्लेख गर्दै देशको हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा जोड दिए। “राष्ट्रको हितभन्दा माथि कुनै सम्झौता हुन सक्दैन,” उनले भने।
उनका अनुसार एमसीसी सम्झौता असमान र राष्ट्रघाती प्रकृतिको भएको भन्दै यसलाई तत्काल खारेज गर्न आवश्यक रहेको बताए। उनले सरकारले दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै यस्ता अन्तर्राष्ट्रिय सम्झौतामा पुनर्विचार गर्नुपर्ने पनि उल्लेख गरे।
साम्पाङको यस अभिव्यक्तिले संसद र राजनीतिक वृत्तमा एमसीसीबारे पुनः बहस चर्किने संकेत देखिएको छ।














