काठमाडौं, चैत २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले शासकीय सुधार अन्तर्गतका कार्यसूचीहरू कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा, सिंहदरबारबाट जारी सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनका आधारमा समिति गठन गरिएको हो।
मन्त्रिपरिषद्को मिति २०८२ साल चैत्र १३ गतेको बैठकबाट स्वीकृत एक सय शासकीय सुधार कार्यसूची कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०८२ चैत्र १९ गते बसेको बैठकको निर्णयअनुसार प्राध्यापक डा. श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा समिति गठन गरिएको हो। उक्त निर्णयलाई मिति २०८२ चैत्र २२ गते मन्त्रीस्तरबाट अनुमोदन गरिएको जनाइएको छ।
समितिमा महाशाखा प्रमुख डा. सरोज शर्मा, डा. भीमप्रसाद सापकोटा, उपसचिव मित्र प्रसाद घिमिरे, वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकार तथा शाखा प्रमुख सुरज प्रकाश अर्याल सदस्य सचिवका रूपमा रहेका छन्।
समितिलाई तोकिएको कार्यादेशअनुसार १५ दिनभित्र ‘फ्री हेल्थ फोटो’ प्रणाली विकास गरी कार्यान्वयन गर्नुपर्नेछ। यस्तै, बिरामीको उपचार इतिहास, रिफरल प्रणाली, पुनः सेवा तथा क्लिनिकल फलोअप व्यवस्थापन गर्न डिजिटल रूपमा एकीकृत ‘पेशेन्ट रेकर्ड सिस्टम’ ३ महिनाभित्र विकास गर्नुपर्नेछ। यस प्रणालीमार्फत अनावश्यक रूपमा निजी अस्पतालतर्फ रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट रिफरल प्रोटोकलसमेत लागू गरिने उल्लेख छ।
त्यसैगरी, सरकारी अस्पतालहरूमा स्वास्थ्यकर्मीको उपस्थिति अनुगमन गर्न GIOMS प्रणाली अनिवार्य रूपमा लागू गरिनेछ भने अस्पताल फार्मेसीमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र सञ्चालनमा ल्याइनेछ।
मन्त्रालयले यी सुधारात्मक कदमहरू मार्फत स्वास्थ्य सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ।















