हेटौडा,बैशाख १६ गते । हेटौडास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै सामाजिक संस्था “सेवा सहयोग र आवाजमा हामी (SSAH)” ले श्रम, रोजगार तथा यातायात मन्त्रालयसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ।
संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महत नेतृत्वको टोलीले आज उक्त पत्र बुझाउँदै ट्रायल परीक्षामा पारदर्शिता अभाव, सेवाग्राहीलाई अनावश्यक झन्झट र केही व्यवस्थाहरू अन्यायपूर्ण रहेको उल्लेख गरेको छ।
पत्रमा विशेषगरी ट्रायल परीक्षा स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीमै सीमित हुनु र सेवाग्राहीलाई हेर्न शुल्क लिनु पर्ने व्यवस्था प्रति आपत्ति जनाइएको छ। नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार सार्वजनिक निकायको काम कारबाही पारदर्शी हुनुपर्ने उल्लेख गर्दै संस्थाले ट्रायलको प्रत्यक्ष दृश्य सेवाग्राहीले देख्न सक्ने गरी सार्वजनिक मोनिटर राख्न तथा फुटेज हेर्दा लाग्ने शुल्क खारेज गर्न माग गरेको छ।
त्यसैगरी, ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न नदिने प्रावधानलाई पनि अन्यायपूर्ण भन्दै संशोधन गर्न आग्रह गरिएको छ। दैनिक प्रयोगमा रहेको सवारी साधनमै परीक्षा दिन पाउँदा परीक्षा बढी यथार्थपरक र सहज हुने तर्क प्रस्तुत गरिएको छ।
यसका साथै, कार्यालय परिसरमै टिकट तथा निवेदन उपलब्ध हुने व्यवस्था नहुँदा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको उल्लेख गर्दै सहज सेवा प्रवाहका लागि टिकट घर स्थापना गर्नुपर्ने माग पनि गरिएको छ।
संस्थाले यी मागहरू यथाशीघ्र सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले जनचासोका विषयमा सकारात्मक र जिम्मेवार कदम चाल्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ।















