सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

हेटौडा,बैशाख १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले हालैका दिनहरूमा बालेन्द्र नेतृत्वको सरकारद्वारा सुकुम्बासी बस्तीहरूमा गरिएको डोजर प्रयोगप्रति गम्भीर आपत्ति जनाएको छ। दलले पर्याप्त पूर्व सूचना बिना नै घर भत्काउने कार्यलाई “अमानवीय” र “गैरजिम्मेवार” व्यवहारको संज्ञा दिएको छ।

नेता जगन्नाथ थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले कतै एक–दुई दिन मात्र, कतै त एक घण्टामै सूचना दिएर भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। यसले गर्दा धेरै परिवार जबरजस्ती आवासविहीन बन्न पुगेका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, व्यवस्थापनका लागि तोकिएको दशरथ रंगशाला लगायतका स्थानहरूमा पनि खान र बस्नको पर्याप्त व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरिएको छ। यस अवस्थाले बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा रोगी व्यक्तिहरू थप समस्यामा परेको जनाइएको छ।

एमालेले यस घटनाक्रमका कारण दुई जनाले आत्महत्या गरेको दाबी गर्दै सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। दलका अनुसार यस्तो व्यवहारले राज्यको गैरजिम्मेवारीपन र अमानवीय प्रवृत्ति झल्काएको छ।

प्रेस विज्ञप्तिमा बालेन्द्र सरकारको कदमलाई “पञ्चायतकालीन निरंकुशता समेत बिर्सने” खालको भन्दै घोर निन्दा र भत्सर्ना गरिएको छ। साथै, भूमिहीन सुकुम्बासीहरूलाई पर्याप्त समय दिएर तत्काल वैकल्पिक आवासको व्यवस्था मिलाउन र प्रभावित समूहको स्वास्थ्य उपचार सुनिश्चित गर्न जोडदार माग गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.