हेटौंडा,बैशाख २५ गते । हेटौंडा अस्पतालमा उपचारका लागि दैनिक करिब १५ सयको हाराहारीमा बिरामी विभिन्न जिल्लाबाट आउने गरेका छन् । इमर्जेन्सी, सर्जरी, अपरेसन तथा डेलिभरीजस्ता संवेदनशील सेवा सञ्चालन भइरहेको अस्पतालसम्म पुग्ने मुख्य सडक वर्षौंदेखि खाल्डाखुल्डी र अस्तव्यस्त अवस्थामा रहेको भन्दै स्थानीयवासी तथा सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।
यसै विषयलाई लिएर सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले अस्पताल पुग्ने सडकको दयनीय अवस्थाका कारण बिरामीहरूले उपचारका क्रममा मात्रै नभई उपचारपछि फर्किने बेलासमेत थप पीडा र जोखिम भोग्नुपरेको उल्लेख गरेका छन् ।
महतले आफ्नो फेसबुक स्टाटस मार्फत अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पुग्ने सडक व्यवस्थित हुनुपर्ने बताउँदै खाल्डाखुल्डी तथा धुलाम्मे सडकका कारण एम्बुलेन्स सेवा सञ्चालनमा समेत कठिनाइ भइरहेको उल्लेख गरेका छन् । विशेषगरी गम्भीर बिरामी, गर्भवती महिला, वृद्धवृद्धा तथा शल्यक्रियापछि फर्किने बिरामीलाई बढी समस्या भइरहेको उनको भनाइ छ ।
स्थानीयवासीहरूले पनि अस्पताल क्षेत्रको सडक लामो समयदेखि मर्मत नहुँदा दैनिक आवतजावतमा समस्या भएको बताएका छन् । वर्षायाममा हिलो र पानी जम्ने तथा सुख्खा समयमा धुलो उड्ने समस्याले अस्पताल परिसर आसपासको वातावरणसमेत प्रभावित बनेको उनीहरूको गुनासो छ ।














