पर्सा जिल्ला अदालतबाट बिना शर्त रिहा भएपछि दुर्गा प्रसाईको चेतावनी : “अन्यायको बदला लिएरै छाड्छौँ”

पर्सा,जेठ १२ गते। दुर्गा प्रसाई पर्सा जिल्ला अदालतबाट बिना शर्त रिहा भएका छन्। मन्दिरमा पूजा गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको भन्दै प्रसाईले आफूहरूमाथि अन्याय भएको दाबी गरेका छन्। अदालतबाट रिहा भएसँगै वीरगंजमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले घटनालाई वैदिक हिन्दू सनातन धर्ममाथिको प्रत्यक्ष प्रहारको संज्ञा दिएका छन्।

पत्रकारहरूले वीरगंजवासीलाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा प्रसाईले आफूलाई साथ, माया र सद्भाव दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै भने, “पहिलो चरणमा मप्रति राखेको माया र सद्भावप्रति सबैलाई धेरै धेरै धन्यवाद। अहिले मलाई सरकारले गवा माइको दर्शन गर्न नदिनु भयो। मन्दिरमा पूजा गर्न जाने क्रममा नै पक्राउ गरियो। यो वैदिक हिन्दू सनातन धर्ममाथि सीधा प्रहार भएको छ।”

उनले थप्दै भने, “सिधा अर्थमा भन्नुपर्दा हिन्दू धर्ममाथि नै आक्रमण भएको हो। हामीमाथि भएको अन्यायको बदला लिएरै छाड्छौँ।”

प्रसाईको अभिव्यक्तिपछि उनका समर्थकहरूले “दुर्गा प्रसाई जिन्दाबाद” भन्दै नाराबाजी गरेका थिए। अदालत परिसर तथा आसपासको क्षेत्रमा समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो। भिड नियन्त्रण गर्न तथा सुरक्षा व्यवस्थापन गर्न प्रहरीलाई त्यसबेला निकै हम्मेहम्मे परेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

रिहाइपछिको स्वागतका लागि नागरिक बचाउ महाअभियानका ऋणी संयोजक देवी संग्रौला, प्रवक्ता प्रेम थापा, महिला ऋणी संयोजक कमला चन्द ठकुरी लगायत विभिन्न पीडित तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।

स्थिति तनावपूर्ण बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रहरी प्रशासनले प्रसाईलाई स्कटिङ गर्दै बाटो क्लियर गरेर काठमाडौँतर्फ पठाएको जनाएको छ। सुरक्षा सतर्कता बढाइए पनि अवस्था नियन्त्रणबाहिर भने नगएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.