वैभव सूर्यवंशीको विस्फोटक इनिङ्समा राजस्थान दोस्रो क्वालिफायरमा, हैदरावाद ४७ रनले पराजित

भारत,जेठ १४ गते। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो एलिमिनेटर खेलमा राजस्थान रोयल्स विजयी हुँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। न्यु चण्डिगढमा बुधबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै राजस्थानले फाइनल यात्रा कायम राखेको हो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल योगफल तयार गरेको थियो। राजस्थानको उच्च स्कोरमा युवा ब्याटर वैभव सूर्यवंशी नायक बने। उनले केवल २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेल्दै मैदान तताए। आफ्नो इनिङ्समा उनले १२ छक्का र ५ चौका प्रहार गरेका थिए।

यससँगै सूर्यवंशीले आईपीएलको एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। यसअघि सन् २०१२ मा क्रिस गेलले बनाएको ५९ छक्काको रेकर्डलाई तोड्दै सूर्यवंशीले यस सिजन ६५ छक्का पूरा गरेका हुन्।

राजस्थानका लागि ध्रुव जुरेलले २१ बलमा अर्धशतकीय ५० रन बनाए भने यशस्वी जयसवालले २९ र कप्तान रियान परागले २६ रनको योगदान दिए। हैदरावादका प्रफुल हिंगेले ३ विकेट लिए भने इशान मालिङ्गा, शिवाङ्ग कुमार र नितिश रेड्डीले समान १–१ विकेट हात पारे।

२४४ रनको विशाल लक्ष्य पछ्याएको हैदरावाद १९ ओभर २ बलमा १९२ रनमै अलआउट भयो। हैदरावादलाई सस्तैमा रोक्न राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए। नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले समान २–२ विकेट लिए भने यश राज पुन्जाले १ विकेट हात पारे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वैभव सूर्यवंशी ‘प्लेयर अफ द म्याच’ घोषित भए। अब राजस्थान र गुजरातबीचको दोस्रो क्वालिफायर खेल भोलि बेलुका पौने ८ बजे न्यु चण्डिगढमा हुनेछ। पराजयसँगै हैदरावादको यस सिजनको यात्रा समाप्त भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.