हेटौंडा, असार १७ गते । मकवानपुर जिल्लामा दोस्रो संस्करणको जिल्लास्तरीय फुलकन्टयाक्ट क्योकुशिन कराँते प्रतियोगिता आयोजना हुने भएको छ। मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (आईकेओ) को आयोजनामा शनिबार हेटौंडा–४ पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
संघका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठ का अनुसार प्रतियोगितामा जिल्लाभित्रका ६ वटा डोजोबाट करिब १ सय ३० जना खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा हेटौंडा–१३ वनस्पतीस्थित हेटौंडा डोजो, हेटौंडा–१४ उत्तरपानी डोजो, हेटौंडा–१८ हर्नामाडीस्थित हर्नामाडी डोजो तथा हेटौंडा–१९ बस्तीपुर डोजोलगायतका डोजोबाट महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन्।
प्रतियोगिताको आर्थिक व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिका समक्ष सहयोग प्रस्ताव राखिएको आयोजकले जनाएको छ। साथै पूर्व खेलाडी, खेलप्रेमी तथा युवा व्यवसायीहरूबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा महिलातर्फ ४० केजीदेखि ५० केजी तौल समूहसम्म तथा पुरुषतर्फ ३० केजीदेखि ५० केजी तौल समूहसम्मका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा फाइट विधामा मात्र प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ।
मुख्य प्रशिक्षक श्रेष्ठले युवा खेलाडी उत्पादन, खेलाडीहरूबीच भाइचारा अभिवृद्धि, मानसिक तथा शारीरिक स्वास्थ्य विकास र जिल्लामा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्रतियोगितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उल्लेख गरे।
उनका अनुसार मकवानपुरका खेलाडीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै पदक जितेर जिल्लालाई चिनाउन सफल भएका छन्। प्रतियोगितामा जुनियरतर्फ १० वर्षदेखि तथा सिनियरतर्फ १८ वर्षसम्म उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा सहभागी खेलाडीहरूका लागि आयोजकले खाना तथा खाजाको व्यवस्था गर्ने जनाएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई विशेष पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मकवानपुरमा बिहान ६ बजेदेखि ८ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म साताको ६ दिन नियमित कराँते प्रशिक्षण सञ्चालन हुँदै आएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए।














