हेटौडा, असार २५ गते। नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ साधारण सभा तथा १७औँ अधिवेशनअघि सङ्घका महासचिव सरोजकुमार खनालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै संस्थागत सुशासन, प्रविधिमैत्री व्यवस्थापन र व्यवसायीको हकहित संरक्षणलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार हुने अधिवेशनको पूर्वसन्ध्यामा जारी प्रेस विज्ञप्तिमा खनालले नेपालको सडक यातायात प्रणालीले देशको कुल यात्रु तथा मालसामान ढुवानीको ९० प्रतिशतभन्दा बढी भार वहन गरिरहेको उल्लेख गर्दै सार्वजनिक यातायात क्षेत्र अहिले बढ्दो सञ्चालन खर्च, अस्वस्थ प्रतिस्पर्धा, सडक सुरक्षा, नीतिगत अस्थिरता, प्रविधिको सीमित प्रयोग तथा व्यवसायी र श्रमिकसँग सम्बन्धित विभिन्न समस्याबाट प्रभावित रहेको बताएका छन्।

उनले संघीय शासन प्रणाली लागू भइसके पनि रुट परमिट व्यवस्थापन, सवारी दर्ता, नवीकरण, कर, बीमा तथा डिजिटल अभिलेख व्यवस्थापनमा अझै प्रभावकारी समन्वय हुन नसकेको उल्लेख गरेका छन्। सीमावर्ती नाकाबाट प्रवेश गर्ने ओभरलोड मालवाहक सवारीका कारण सडक तथा पुलमा क्षति पुग्ने समस्या समाधानका लागि तौल पुलको प्रभावकारी सञ्चालन र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

खनालले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित, वातावरणमैत्री र यात्रुमैत्री बनाउन राष्ट्रिय यातायात नीति प्रभावकारी रूपमा कार्यान्वयन, रुट तथा सवारी व्यवस्थापनको पूर्ण डिजिटल प्रणाली, विद्युतीय सार्वजनिक सवारीलाई प्रोत्साहन तथा सडक सुरक्षा मापदण्डको कडाइ आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
लामो समयदेखि महासचिवको जिम्मेवारी सम्हाल्दै आएको अनुभवका आधारमा व्यवसायी, श्रमिक र यात्रुको अपेक्षालाई नजिकबाट बुझेको उल्लेख गर्दै उनले अध्यक्षमा निर्वाचित भए संस्थागत सुशासन, आर्थिक अनुशासन, पारदर्शिता, जवाफदेहिता तथा प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
उनले व्यवसायीका जायज हकहित, बीमा, कर, नवीकरण, बैंकिङ सहजीकरण तथा कानुनी जटिलताका विषयमा सम्बन्धित निकायसँग प्रभावकारी पहल गरिने, श्रमिकको क्षमता अभिवृद्धि, सुरक्षा र नयाँ पुस्ताका व्यवसायीलाई नेतृत्व विकासमा जोड दिइने पनि बताएका छन्।
विज्ञप्तिमा अधिवेशनलाई स्वस्थ, मर्यादित, लोकतान्त्रिक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सदस्य तथा मतदातासमक्ष सहयोग, सुझाव र समर्थनको अपिल गरिएको छ।
यसैबीच, नारायणी यातायात व्यवसायी सङ्घको १६औँ अधिवेशनबाट चयन भएको कार्यसमितिमा अध्यक्ष सरोजकुमार खनाल, वरिष्ठ उपाध्यक्ष विष्णु बिडारी, उपाध्यक्षहरू शंकर गिरी, बिनोदकुमार मानन्धर, शालिकराम ढकाल र केशवकुमार उप्रेती, महासचिव राजेश खड्की लगायत विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन भएका थिए।














