हेटौंडा, असार २६ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिग्देलले सुशासनको नारासहित निर्माण भएको सरकारको नेतृत्वमा मुलुकमा निराशा र अराजकता तीव्र रूपमा बढिरहेको दाबी गरेका छन्। उनले गणेश नेपालीको आत्मदाहलाई त्यसैको दुःखद परिणामका रूपमा टिप्पणी गरेका छन्।
सिग्देलले आफ्नो स्टाटसमा लेखेका छन्, “सुशासनको नारा दिएर निर्माण भएको बालेन सरकारको नेतृत्व रहेको बेला मुलुकमा निराशा र अराजकता तीव्र रूपमा बढ्दो छ। यसको नतिजा गणेश नेपालीको दुःखद आत्मदाह हो। यसको जिम्मेवार सरकारले लिनुपर्छ कि पर्दैन ?”
उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले घटनाको निष्पक्ष छानबिन र जिम्मेवार निकायको जवाफदेहिताको माग गरेका छन्।
गणेश नेपालीको आत्मदाहको घटनाले देशभर चर्चा पाएको छ। घटनाको वास्तविक कारण, त्यसतर्फ पुर्याउने परिस्थितिहरू तथा सम्बन्धित निकायको भूमिकाबारे थप अनुसन्धान र आधिकारिक निष्कर्ष आउन बाँकी रहेको छ।














