कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

हेटौंडा, असार २९ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा सोमबार बिहान आएको आकस्मिक बाढीले एउटा खाली १२ चक्के ट्रक बगाएको छ। घटनामा चालकले भने पौडिएर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट उद्योग नजिक रहेको कर्रा खोला पार गर्ने क्रममा पानीको बहाव एक्कासि बढेपछि ना ७ ख ७६५ नम्बरको आइचर ट्रक बाढीमा बगेको हो। ह्युम पाइप राखेर निर्माण गरिएको कल्भर्टबाट ट्रक पार गराउने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ।

सिमेन्ट उद्योगमा ढुंगा अनलोड गरेर फर्किरहेको ट्रकका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दिपक थिङले बाढीमा फसेपछि पौडिएर आफ्नो ज्यान जोगाउन सफल भएका हुन्। घटनाका क्रममा उनको खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक प्रक्रिया अघि बढाएको थियो।

प्रहरीका अनुसार यस घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन। बाढीले बगाएको ट्रक भने खोलामै अड्किएको अवस्थामा रहेको र त्यसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.