हेटौंडा, भदौ ६ गते । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि निर्मम हत्या भएको घटनाप्रति उज्यालो नेपाल पार्टी जिल्ला समन्वय कमिटी मकवानपुरले गम्भीर ध्यानाकर्षण जनाएको छ।
पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति स्तब्ध भएको जनाउँदै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। अबोध बालिकामाथि भएको यस्तो जघन्य अपराध सभ्य समाजका लागि कलङ्क भएको भन्दै विज्ञप्तिमा घटनाले राज्यको जवाफदेहितामाथि समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको छ।
उज्यालो नेपाल पार्टी मकवानपुरले घटनाको निष्पक्ष, शीघ्र र वैज्ञानिक अनुसन्धान गरी अनुसन्धानलाई पारदर्शी बनाउन तथा घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।
त्यस्तै, पीडित परिवारलाई तत्काल राहत, सुरक्षा तथा आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउन र बालबालिका तथा महिलामाथि हुने हिंसा एवं यौन अपराध नियन्त्रणका लागि प्रभावकारी राष्ट्रिय बाल सुरक्षा संयन्त्र निर्माण गरी ठोस रोकथामका उपाय तत्काल लागू गर्न पनि पार्टीले माग गरेको छ।
विज्ञप्तिमा आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिइएको छ। न्यायको सुनिश्चितता र सुशासन स्थापनाका लागि पार्टी सदैव प्रतिबद्ध रहेको अध्यक्ष लामाले बताएका छन्।















