मनहरी, भदौ १० गते । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित सीता माध्यमिक विद्यालयले आफ्नो ४९औँ अभिभावक दिवस तथा विविध कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङको अध्यक्षतामा आयोजित कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिन, गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली तथा विद्यालयका प्रधानाध्यापक विशाल घलानलगायतको उपस्थिति थियो।
कार्यक्रममा विद्यालयको पछिल्लो शैक्षिक अवस्था, अतिरिक्त क्रियाकलाप तथा अन्य गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो। साथै विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयको समग्र विकास, अभिभावकको भूमिका तथा विद्यालय र समुदायबीचको सम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो।
अभिभावक दिवसका अवसरमा शिक्षा, समाजसेवा, खेलकुदलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको अभिभावक दिवसलाई विद्यार्थीको शैक्षिक विकाससँगै शिक्षक, अभिभावक र विद्यालयबीच आपसी समन्वय तथा सहकार्य बढाउने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यालयप्रति अभिभावकको अपनत्व बढाउनुका साथै विद्यार्थीको समग्र विकासका लागि आवश्यक सहकार्य र जिम्मेवारीबोध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।














